काठमाडौं । कृषि विकास बैंक घाटामा गएको छ । गत आर्थिक वर्षको ६ महिनामा झन्डै डेढ अर्ब रुपैयाँ नाफा कमाएको बैंक चालु वर्षको सोही अवधिमा नोक्सानीमा गएको हो ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्म बैंकले १२ करोड ८९ लाख ३३ हजार रुपैयाँ घाटा व्यहोरेको हो । जबकी गत वर्षको पुस मसान्तसम्म बैंकले १ अर्ब ४२ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानीमा झिनो गिरावट आए पनि सञ्चालन नाफामा भारी गिरावट आउँदा र इम्पेयरमेन्ट चार्ज ह्वात्तै बढ्दा बैंक घाटामा गएको हो । ऋण असुल हुन नसक्दा खराब कर्जा बढ्न जाँदा २ अर्ब १७ करोड प्रोभिजनिङ गर्नु परेकाले बैंकको नाफामा ठूलो असर परेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.३६ प्रतिशत घटेर ३ अर्ब ७२ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सञ्चालन मुनाफा भने १०५.३६ प्रतिशतले घटेर ११ करोड ऋणत्मक भएको छ ।
हाल १८ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भ कोषमा ११ अर्ब ९५ करोड र रिटेन्ड अर्निङमा २ करोड ६१ लाख संचित छ । समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ करोड ६१ लाख रुपैयाँ छ।
समीक्षा अवधिमा बैंकले १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७५ करोड कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको निक्षेप ३.७६ प्रतिशत र कर्जा १.४७ प्रतिशतले बढेको छ ।
घाटामा गएसँगै बैंकको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४.४३ रुपैयाँ ऋणात्मक भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २०९.८२ रुपैयाँ, बेसरेट ११.०६ प्रतिशत छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा दोब्बरले बढेर ४.५२ प्रतिशत पुगेको छ ।