काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकाले काँचो इँटा उत्पादन गरेर निकासी गर्ने व्यवसायीलाई कर लगाएको छ । नगरपालिकाको १२औँ नगरसभाले करको दायरालाई फराकिलो बनाउँदै काँचो इँटा उत्पादन तथा निकासीमा कर लगाएको हो ।
इँटाभट्टा व्यवसायीले निश्चित वार्षिक कर तिर्ने गरे पनि काँचो इँटा उत्पादन गर्दै बिक्री एवं निकासी गर्नेले वर्षौँदेखि कर नतिरी व्यवसाय सञ्चालन गरेपछि नगरसभाले नै यसमा पनि कर लगाउने निर्णय गर्दै कर निर्धारण गरेको नगरप्रमुख जीवन खत्रीले जानकारी दिए ।
काँचो इँटा उत्पादन गर्दै आएका व्यवसायीले किसानको जग्गा भाडामा लिएर काँचो इँटा उत्पादन गर्ने र भट्टालाई इँटा बिक्री गर्दै आएका छन् । नगरपालिकाले निश्चित स्थानमा व्यवसाय सञ्चालन गरेवापत प्रतिस्थान रु १० हजार र काँचो इँटा तयार गर्ने जग्गाले चर्चेको प्रतिरोपनी रु ५०० का दरले कर असुली गर्ने निर्णय गरेको हो ।
त्यसो त भक्तपुरका रहेका ६१ इँटाभट्टामध्ये ४१ भट्टा रहेको चाँगुनारायणमा प्रदूषण बढाउने प्रमुख कारण नै इँटा उद्योग रहेकाले इँटा उद्योगलाई हटाउनुपर्ने माग गर्दै स्थानीय जनस्तरदेखि कार्यपालिकामा समेत पटक–पटक आवाज उठ्दै आइरहेको छ ।