काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तार गरेका छन् । यसअघि ८ सदस्यीय रहेको मन्त्रिमण्डल विस्तार गर्दै प्रचण्डले २३ सदस्यीय बनाएका हुन् ।
सोमबार सत्ता गठबन्धा दलहरुबीच मन्त्रालयको भागबण्डा सकिएसँगै प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । उगत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिएका थिए ।
नवनियुक्त मन्त्रीहरुको शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथग्रहण गरेका छन् । सत्ता साझेदार दलमध्ये नेकपा एमालेले सबैभन्दा धेरै ८ वटा मन्त्रालय पाएको छ ।
त्यस्तै, माओवादी प्रधानमन्त्रीसहित ४ मन्त्रालय, रास्वपा र राप्रपाले ३३ वटा र जनमत पार्टीले एक मन्त्रालय पाएका छन् । रास्वपा, माओवादी र राप्रपाले एकएक राज्यमन्त्री पनि पाएका छन् ।
को कुन मन्त्री बने ?
माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान, भौतिक तथा योजना, रेखा शर्मा सूचना तथा संचार, सुदन किँराती संस्कृति पर्यटन तथा नागरिक उड्डयन र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । सुशीला श्रीपालीले संस्कृतिक पर्यटन राज्यमन्त्रीमा नियुक्त भएकी छन् ।
यसैगरी, नेकपा एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थ, हरि उप्रेती रक्षा, दामाेदर भण्डारी उद्योग तथा वाणिज्य आपूर्ति विमला राई पौडेल परराष्ट्र, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका, ज्वालाकुमारी साह कृषि र राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्रीमा नियुक्त भएका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, शिशिर खनाल शिक्षा, डीपी अर्याल श्रम र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएकी छिन् ।
यसैगरी, राप्रपबाट राजेन्द्र लिङदेन उपप्रधान तथा ऊर्जा मन्त्री, ध्रुवहादुर प्रधान कानून मन्त्री, विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपक सिंह ऊर्जा राज्यमन्त्री भएका छन्।
जनमत पार्टीका अब्दुल खान खानेपानीमन्त्री बनेका छन् । जसपालाई छुट्याइएको २ कोटाबाट भने कोही मन्त्री बनेका छैनन् ।