काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रियसहित देशभरका अधिकांश विमानस्थलमा उडान प्रभावित भएको छ । बाक्लो हुस्सु/कुहिरोका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार उडान प्रभावित भए पनि ठप्प भने नरहेको जनाएको छ । दिउँसो हुस्सु कुहिरो कम हुँदै गए उडान नियमित हुने कार्यालयले जनाएको छ ।
मौसमका कारण उडान प्रभावित हुँदा विभिन्न गन्तव्यमा पुग्ने यात्रुहरु मर्कामा परेका छन् ।
देशभर आन्तरिकतर्फ दैनिक करिब ३०० उडान हुन्छन् । बुद्ध एयरको सबैभन्दा बढी दुईतर्फी करिब १५० उडान हुन्छ । यती एयरलाइन्सको दैनिक ५८ उडान हुने गरेको छ । यतिले पोखरामा भएको विमान दुर्घटनाको शोकमा आज सबै उडान स्थगित गरेको छ ।
यस्तै आन्तरिक उडानमा श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयरलाइन्सले पनि विभिन्न गन्तव्यमा उडान गर्छन् । आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान गर्दै आएका छन् ।