‘ब्ल्याक बक्स’ले कसरी विमान दुर्घटनाको कारण पत्ता लगाउन सहयोग गर्छ ?

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुग्नै लाग्दा खोँचमा खसेको यती एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ समिति उक्त विमानको ब्ल्याक बक्सको पर्खाइमा छ।

दुर्घटनामा हराइरहेका मानिसको खोजीमा आइतवार अबेरसम्म जुटेका उद्धारकर्मीहरू सोमबारबाट विमानको ब्ल्याक बक्सको खोजीमा पनि जुट्ने अधिकारीहरूले बताएका छन्। विमानको पछिल्लो भागमा हुने यो उपकरणबाट विमान दुर्घटनाको कारण पत्ता लाग्ने उनीहरूको विश्वास छ।

‘कुन उपकरणको कस्तो अवस्था थियो भन्नेचाहिँ त्यो ब्ल्याक बक्सले बताउँछ। कुन भागको सङ्केत के थियो। अचानक आएको समस्या हो कि। बाहिरी वा आन्तरिक कारणले भएको हो भन्ने बताउँछ,’ जाँचबुझ समितिका सदस्यसचिव बुद्धिसागर लामिछानेले भने, ‘यसले दुर्घटनाको जाँचबुझमा धेरै नै सहयोग पुर्‍याउँछ।’

यो जहाजमा हुने ब्ल्याक बक्समा फ्लाइट डेटा रेकर्डर र ककपिट भोइस रेकर्ड दुवै हुने भएकाले अनुसन्धानमा निकै महत्त्वपूर्ण हुने लामिछाने बताउँछन्।

ब्ल्याक बक्स के हो ?

ब्ल्याक बक्स विमानको पछिल्लो भागमा रहने विद्युतीय उपकरण हो। विमान दुर्घटनाका घटनामा यो उपकरण निकै महत्त्वपूर्ण हुन्छ। ब्ल्याक बक्स वास्तवमा कालो रङ्गको चाहिँ हुँदैन। यस्तो उपकरण गाढा सुन्तला रङ्गको हुन्छ।विमान दुर्घटना भएको ठाउँमा भेट्न सहज होस् भनेर यस्तो रङ्गमा ब्ल्याक बक्स बनाइएको हुन्छ।

‘दुर्घटना हुँदा कम क्षति हुने भाग भएकाले यसलाई विमानको पछिल्लो भागमा राखिएको हुन्छ,’ एक दर्जनभन्दा बढी विमान दुर्घटना छानबिनमा संलग्न भएका एरोनटिकल इन्जिनियर रतीशचन्द्र लाल सुमनले भने।

प्रायः ब्ल्याक बक्समा दुईवटा भाग हुन्छन्। तर सबै विमानमा यी दुवै भाग नहुन पनि सक्छन्। फ्लाइट डेटा रेकर्डर र ककपिट भोइस रेकर्डर । उच्च तापक्रम र पानीमुनिको गहिरो सतहमा पनि यसभित्रका डेटा नष्ट नहुनेगरी ब्ल्याक बक्सको निर्माण गरिएको हुन्छ।

फ्लाइट डेटा रेकर्डर

 फ्लाइट डेटा रेकर्डरले प्राविधिक पक्षको रेकर्ड राख्छ। त्यसमा विमानका हरेक उपकरणको अवस्था, उचाइ, दिशा, तापक्रम, गति, इन्धनको मात्रा, अटो-पाइलटको अवस्था लगायतका विवरणहरूको अभिलेख रहन्छ।

‘कुनै उपकरणले काम गरिरहेको थिएन भने त्यो कुरा यसमा नोट हुन्छ र त्यसबाट विमानको प्राविधिक पक्षको विश्लेषण गर्ने हो,’ सुमनले भने। तर कतिपय साना र ट्विनअटर विमानमा यो हुँदैन। यसअघि मुस्ताङमा दुर्घटनामा परेको तारा एयरको ट्विनअटर विमानमा यस्तो उपकरण थिएन।

ककपिट भोइस  रेकर्डर

यसमा सामान्यतया २५ घण्टाको रेकर्डिङ अवधि हुन्छ। यो उपकरणमा चार वटा च्यानल हुन्छन् र चार स्थानका आवाजको रेकर्ड राखेको हुन्छ।  यसमा पाइलटको, कटपिटको, टावरसँग हुने सञ्चारको र प्यासेन्जर अनाउन्सेन्टको रेकर्ड हुने सुमन बताउँछन्।

दुर्घटना अनुसन्धानको क्रममा यस्तो उपकरणमा सङ्ग्रह भएको आवाज नै अनुसन्धानकर्ताहरूले सुनेर विश्लेषण गर्छन्। ‘पाइलटले के बोल्यो, के सुन्यो, केही खराबी थियो भने को‍-पाइलटलाई जानकारी दियो कि दिएन, यात्रु र टावरलाई दियो कि दिएन त्यो कुराहरूको आवाज सुनेपछि धेरै थाहा हुन्छ,’ यसअघिको तारा एयर दुर्घटना जाँचबुझ समितिका संयोजक समेत रहेका सुमनले भने।

पहिले विदेश धाउनुपर्थ्यो’

पुराना जहाजहरूमा म्याग्नेटिक टेपमा यस्तो आवाज रेकर्ड हुन्थ्यो र सुन्नका लागि विदेश जानुपर्ने बाध्यता थियो। नागरिक उड्डयन प्राधिकरणको हवाई दुर्घटना अनुसन्धान शाखामा लामो समय काम गरेका इन्जिनियर सुमनले आफू सन् १९९२ मा ककनीमा दुर्घटना भएको थाई एयरको सीभीआर लिएर क्यानडा गएको बताए।

‘म आफैँ ब्ल्याक बक्स लिएर क्यानडा र फ्रान्स गएको छु। तर अहिले धेरै काम नेपालमै हुन्छ,’ उनले भने। पछिल्ला विमानहरूमा यस्तो आवाज डिजिटल माध्यममा रहने र नेपालमै सुन्न सकिने सुमनले बताए।

पछिल्लो समय नेपालमै ब्ल्याक बक्सको विश्लेषण हुने भए पनि फ्लाइट डेटा रेकर्डरको कतिपय अध्ययनका लागि विदेशी विशेषज्ञहरूको पनि सहयोग लिने गरिएको छानबिन समितिका सदस्यसचिव लामिछानेले बताए।

डेटा विश्लेषण गर्ने ‘प्रोग्राम’मा राखेर हेरेपछि कतिपय अवस्थामा दुर्घटनाको कारण थाहा हुने उनी बताउँछन्। ‘दुर्घटना नहुँदै पनि विमानको स्वास्थ्य अवस्था परीक्षणका लागि र मर्मतका लागि पनि यसको प्रयोग र विश्लेषण गर्ने गरिएको छ,’ उनले भने।

दुर्घटना अनुसन्धानमा ब्ल्याक बक्सको महत्त्व

 काठमाण्डूको अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा भासिएको टर्किश एयर दुर्घटना, काठमाण्डूको विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको यूएस बाङ्ग्ला एयरसहित धेरै हवाई दुर्घटनामा ब्ल्याक बक्सले वास्तविकता पत्ता लगाउन सहयोग गरेको लामिछानेले बताए।

‘हो यूएस बाङ्ग्लाको दुर्घटनामा गलत एप्रोच गरेको हो। गलत दिशाबाट अवतरण गर्न खोजेको हो भन्ने यसले देखायो,’ सुमनले थपे। लुक्ला विमानस्थलमा भएको समिट एयरको विमान दुर्घटना अध्ययनमा पनि ब्ल्याक बक्सले घटनाको कारण पत्ता लगाउन सहयोग गरेको लामिछानेले बताए।

कहिलेकाहीँ कुनै कुरा निश्चित गर्न पनि ब्ल्याक बक्सले सहयोग गर्ने उनीहरू बताउँछन्। –बीबीसी

 

गुराँस, प्राइम र युनियन लाइफ बीच मर्जरकाे अन्तिम सम्झौता, स्वाप रेसियो कति ? Read Previous

गुराँस, प्राइम र युनियन लाइफ बीच मर्जरकाे अन्तिम सम्झौता, स्वाप रेसियो कति ?

आन्तरिक उडान प्रभावित Read Next

आन्तरिक उडान प्रभावित