काठमाडौं । आइतबार पोखराकाे सेती खोँचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएको छ । बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराका लागि उडेको जहाजमा चालक दलका ४ सहित र ६८ यात्रु गरी ७२ जना सवार थिए । आइतबार अपराह्न ५ बजेसम्म ६९ जनाको शव भेटिएको छ भने ३ जनाको अझै फेला परेको छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र विमान कम्पनीका अनुसार विमानमा सवार ५७ जना नेपाली र १५ जना विदेशी नागरिक थिए । नेपालको इतिहासमा आन्तरिक तर्फको उडानमा यो सबैभन्दा ठूलो दुर्घटना हो भने एटीआर विमानतर्फ पहिला दुर्घटना हो ।
विश्वभर हवाई सेवालाई सबैभन्दा सुरक्षित यात्रा मानिए पनि नेपालमा भने सडक यात्राभन्दा पनि जोखिमयुक्त बन्दै आएको छ । नेपाली आकाश हवाई सेवाका लागि असुरक्षित रहेको भन्दै युरोपेली युनियनले कालोसूचीमा समेत राखेको छ ।
प्राधिकरणका अनुसार नेपालमा हालसम्म (आइतबार भएको दुर्घटना सहित) १०४ वटा हवाई दुर्घटना भएका छन् । यी दुर्घटनामा ८ सय भन्दा बढी मानिसको मृत्यु भएको छ ।
आइतबार भएको एटीआर विमान भने अन्तरिक तर्फको सबैभन्दा ठूलो र पहिलो दुर्घटना हो । एटीआर विमान सुगम क्षेत्रको उडानका सुरक्षित मानिन्छ । नेपालमा हवाई सेवा प्रदायकहरूले डेढ दर्जन एटीआर विमान उडान गरिरहेका छन् ।
यसअघि ८ महिना अघि यतिकै भगिनी संस्था तारा एयरको विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो । नेपालमा भएका ठूला विमान दुर्घटनाहरूमा सन् १९९२ मा ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरको विमानमा १६७ जनाको मृत्यु भएको थियो भने सोही वर्ष थाई एयरको जहाज दुर्घटनामा ११३ जनाको मृत्यु भएको थियो ।
सन् २०१८ मा बंगलादेशबाट नेपाल आएको यूएस–बंगला एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ५१ जनाको मृत्यु भएको थियो । यी नेपालमा विदेशी विमानका ठूला दुर्घटना हुन् ।
आन्तिरक तर्फ सन् २००६ मा सङ्खुवासभाको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु भएको थियो ।
२०१९ एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा हुँदा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो ।
यसैगरी, २०१८ मा गोर्खाबाट काठमाडौं आउँदै गरेको एल्टिट्यूड एअरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनामा ६ जनाले ज्यान गुमाए ।
२०१६ मा पोखराबाट जोमसोम उडेको तारा एअरको विमान हुँदा २३ जनाको मृत्यु भएको थियो भने २०१४ पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु भएको तथ्याक छ ।
२०१२ मा काठमाडौंबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनामा परी १९ जनाको मृत्यु भएकाे थियाे ।
सोही वर्ष भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एअरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाएका थिए ।
२०११ मा माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको विमान कोतडाँडामा दूर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । २०१० मा ओखलढुङ्गामा दुर्घटनामा पर्दा १९ यात्री र चालकदलका तीन सदस्यको मृत्यु भएको थियो । सोही वर्ष २०१० मा लुक्ला उडेको विमान दुर्घटनामा पर्दा १४ जनाको मृत्यु भएको थियो । २००८ मा लुक्ला विमानस्थलमा अवतरण गर्ने बेला भएको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।
हवाई क्षेत्रका जानकारहरूका अनुसार नेपालमा विमान दुर्घटना बढ्नुका कारण मानविय त्रुटी, भागोलिक संरचना, प्रविधिको अभाव, नियमनकारी निकायको लापरबाही, विमानस्थलमा धावनमार्गको अवस्था स्तरीय नहुनु, पुराना उपकरण प्रयोग गरिएका थोत्रा जहाज चलाउन अनुमति दिनु लगायत कारणहरू रहेका छन् ।
सरकारले विमान दुर्घटना भएपछि अध्ययन गर्न समिति गठन गर्ने गरेको छ । समितिले पनि दुर्घटनाको कारण र सुझाव दिए पनि कार्यान्वयन हुँदैन । जसको कारण सुरक्षित मानिएको हवाई यात्रामा मानिसले वर्षेनि ज्यान गुमाइरहेका छन् ।