डलर संचितिमा लगातार सुधार, मंसिरमा ढुकुटीमा थपियो १९ करोड डलर

काठमाडौं । अमेरिकी डलर संचितिमा सुधार आएको छ । चालु आर्थिक वर्ष सुरु भए यता लगातार ओरालो लागेको डलर संचिति असोजदेखि भने लगातार बढ्दो क्रममा रहेको हो ।

पछिल्लो एक महिनाको अवधिमा राष्ट्रिय ढुकुटीबाट १९ करोड डलर थपिएको । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँचौं महिना (मंसिर)को तथ्यांक अनुसार कात्तिकको तुलनामा मंसिरमा डलर संचिति १९ करोडले बढेको हो ।

डलर संचितिमा सुधार आएको यो लगातार तेस्रो महिना हो । असोजमा राष्ट्रिय ढुकुटीमा १३ करोड र कात्तिकमा १५ करोड डलर थपिएको थियो ।

कात्तिक मसान्तसम्म डलर संचिति ९ अर्ब ६३ करोड रहेकोमा मंसिर मसान्त आइपुग्दा १९ करोडले बढेर ९ अर्ब ८२ करोड पुगेको छ । २०७९ असार मसान्तसम्म राष्ट्रिय ढुकुटीमा ९ अर्ब ५४ करोड डलर संचिति थियो ।

यस्तै, समग्र विदेशी मुद्रा संचितिमा पनि सुधार आएको छ । २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.३ प्रतिशतले वृद्धि भई २०७९ मंसिर मसान्तमा रु.१२९२ अर्ब ५६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा ३.० प्रतिशतले वृद्धि भई ९ अर्ब ८२ करोड कायम
भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा ७.८ प्रतिशतले वृद्धि भई रु.११३९ अर्ब २२ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा ३.८ प्रतिशतले कमी आई रु.१५३ अर्ब ३४ करोड कायम भएको छ । २०७९ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।

निक्षेपको ब्याजदर घटाउने निर्णय सकारात्मक : सीएनआइ Read Previous

निक्षेपको ब्याजदर घटाउने निर्णय सकारात्मक : सीएनआइ

अर्थतन्त्रका अधिकांश सूचकमा सुधार, यस्तो छ अवस्था Read Next

अर्थतन्त्रका अधिकांश सूचकमा सुधार, यस्तो छ अवस्था