निक्षेपको ब्याजदर घटाउने निर्णय सकारात्मक : सीएनआइ

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनको मागमा ब्याजदर घटाउने निर्णय सकारात्मक भएको नेपाल उद्योग परिसंघ (सीएनआइ)ले बताएको छ ।

अर्थतन्त्रमा लगानीयोग्य पूँजीको अभाव, निष्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायतका कारणले निजी क्षेत्रको मनोबल खस्किएको बेलामा निक्षेपको ब्याजदर घटाउने सहमतीको परिसंघले स्वागत गरेको हो ।

मागमा आएको संकुचन, उच्च ब्याजदरका कारण लगानी महँगो हुँदा नयाँ लगानीका योजना स्थगन भइरहेका छन् । यसले अर्थतन्त्रलाई नै संकुचित बनाइरहेको छ । नेपाल उद्योग परिसंघले निजी क्षेत्रको खस्किएको मनोबल उकास्न, अर्थतन्त्रलाई गति प्रदान गर्न ब्याजदर घटाउनुपर्नेमा जोड दिदै आएको बताएको छ । यो निर्णय चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सहयोगी हुने संघको विश्वास छ ।

निक्षेपको ब्याजदर घटेसँगै लागत घट्ने छ । यसले आधार दर र कर्जाको ब्याजदर पनि घटाउने परिसंघको बुझाइ छ । कर्जाको ब्याजदर घट्दा उद्योग व्यवसायमा लगानी विस्तार हुने र उद्योगी व्यवसायीहरुको खस्किएको मनोबल उकास्न सहयोगी हुने जनाएको छ ।

उद्योग परिसंघले हालै गरेको एक सर्वेक्षणमा करिब ७० प्रतिशत व्यवसायीले लगानी विस्तारको योजना स्थगन गरेको बताएका थिए । ब्याजदर घटेपछि लगानीकर्ताले आफ्नो लगानी विस्तारको योजनालाई फेरी अगाडि बढाउने र समग्र मागमा वृद्धि आउने हुँदा अर्थतन्त्र चलायमान हुने निजी षेत्रका व्यवसायीहरु बताउँछन् ।

नेपाल राष्ट्र बैंकले गत साता मात्रै चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा लचकता देखाउँदै गरेको संशोधनले निजी क्षेत्रको खस्केको मनोबल उकास्न केही मात्रामा भए पनि सकारात्मक सञ्चार प्रवाह गरेको परिसंघको भनाइ छ ।

साथै, मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत थप तरलता प्रवाह बढाउने, उद्योग क्षेत्रमा जाने कर्जामा आधार दरमा २ प्रतिशतभन्दा अधिक प्रिमियम जोड्न नपाउने गरी नीतिगत सुधार गर्न नेपाल राष्ट्र बैंकसमक्ष सीएनआइले आग्रह गरेको छ ।

लुम्बिनी केबलकारको टावर निर्माण सम्पन्न, फागुनदेखि संचालनमा आउने Read Previous

लुम्बिनी केबलकारको टावर निर्माण सम्पन्न, फागुनदेखि संचालनमा आउने

डलर संचितिमा लगातार सुधार, मंसिरमा ढुकुटीमा थपियो १९ करोड डलर Read Next

डलर संचितिमा लगातार सुधार, मंसिरमा ढुकुटीमा थपियो १९ करोड डलर