काठमाडौं । रुपन्देहीको बुटवलदेखि पाल्पाको वशन्तपुरसम्म निर्माणाधीन लुम्बिनी केबलकार आगामी फागुनदेखि संचालनमा आउने भएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा संचालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरुको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुनदेखि संचालनमा आउने बताएका हुन् ।
‘केबलकार टावरहरुको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ । टप स्टेशनमा मन्दिर एरियाको सिभिल निर्माण कार्य पनि द्रुत गतिमा अगाडी बढिरहेको कुरा जानकारी गराउन चाहन्छु,’ उनले भने ।
उनले केबलकारको सम्पूर्ण गोण्डोला लगायतका उपकरणहरुको विदेशबाट आयत गर्ने कार्य सम्पन्न भइ ९ वटा टावर मध्ये ७ वटा टावरको जडान कार्य सम्पन्न भइसकेको र बाँकी २ वटा टावरको जडान कार्य पनि अन्तिम चरणमा पुगेको बताए ।
त्यस्तै टप स्टेशनमा केबलकार उपकरणहरुको जडान कार्य सम्पन्न भइसकेको छ भने बटम स्टेशनमा केबलकार उपकरणहरुको जडान कार्य अगाडी बढिरहेको छ उनले जानकारी दिए ।
साथै, उनले सम्पूर्ण इलेक्ट्रोमेकानिकल कार्यहरुको निर्माण तथा जडान गर्ने कार्य द्रुतगतिमा अगाडि बढिरहेको समेत बताए । यो केबलकार परियोजनाको निर्माण कार्य २०७८ साल पुसमा सुरु भएको थियो ।