अर्थतन्त्रका अधिकांश सूचकमा सुधार, यस्तो छ अवस्था

काठमाडौं । गत आर्थिक वर्षदेखि दबाबमा रहेको अर्थतन्त्रमा क्रमशः सुधार देखिन थालेको छ । गत वर्षदेखि ओरालो लागेर चालु आर्थिक वर्षको असोजदेखि सुधार आउन थालेको अर्थतन्त्रले सोही लय कायम राखेको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको पाँच महिना (मंसिरसम्म)को अध्ययन प्रतिवेदन अनुसार अधिकांश आर्थिक् तथा वित्तीय सूचकहरूमा सुधार आएको छ ।

राष्ट्र बैंकका अनुसार रेमिट्यान्स आप्रवाहमा वृद्धि, विदेशी विनियम संचिति बढ्नु, व्यापार घाटा कम हुनु, चालु खाता र शोधनान्तर स्थितिमा सुधार हुँदै गएको छ । यद्यपि, मूल्य वृद्धि भने सरकारको नियन्त्रण बाहिर गएको राष्ट्र बैंकले जनाएको छ ।

२३ प्रतिशतले बढ्यो रेमिट्यान्स

चालु वर्षको पाँच महिनामा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेर ४८० अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो ।

चालु खाता र शोधनान्तर स्थिति

यस अवधिमा चालु खाता ३७ अर्ब ९१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २९ खर्ब ८ अर्ब ५१ करोडले घाटामा रहेको थियो । कात्तिकको तुलनामा मंसिरमा चालुखाता घाटा बढेको छ । गत महिना चालु खाता ३५ अर्ब ४० करोडले घाटामा रहेको थियो ।

शोधनान्तर स्थितिमा भने सुधार आएको छ । यस अवधिमा ४५ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १९५ अर्ब १ करोडले घाटामा रहेको थियो ।

विदेशी मुद्रा संचितिमा सुधार

असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.३ प्रतिशतले वृद्धि भई मंसिर मसान्तमा १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको छ ।

यस पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.० महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

मूल्य वृद्धिको चाप कायमै

समीक्षा अवधिमा मूल्य वृद्धि सरकारको नियन्त्रण बाहिर पुगेको छ । राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.११ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.८५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फृत ७ प्रतिशतको हाराहारीमा मूल्यवृद्धि कायम राख्ने लक्ष्य लिएको थियो । तर, त्यसअनुसार लक्ष्य पूरा गर्न सकेको देखिँदैन ।

बाह्य दबाबका कारण मूल्यवृद्धिको प्रभाव सबै वस्तुमा परेको छ । केही समय अघि राष्ट्र बैंकले गरेको अध्ययन प्रतिवेदनले १२ प्रतिशतसम्म मूल्यवृद्धि पुग्न सक्ने प्रक्षेपण गरेको थियो ।

डलर संचितिमा लगातार सुधार, मंसिरमा ढुकुटीमा थपियो १९ करोड डलर Read Previous

डलर संचितिमा लगातार सुधार, मंसिरमा ढुकुटीमा थपियो १९ करोड डलर

रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढ्यो Read Next

रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढ्यो