काठमाडौं । सिभिल बैंक लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा बिहीबार कालिकास्थान स्थित अमृतभोग बैंक्वेटमा सम्पन्न भएको हो ।
उक्त सभाले बैंकले गत वर्षको नाफाबाट घोषणा गरेको ५ प्रतिशत बराबरको बोनस सेयर र कर प्रयोजनको लागि प्रतिसेयर ०.२६ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
यस्तै, सभाले आ.व. २०७९/८० को लेखापरिक्षण गर्नको लागि एस राई एण्ड एशोसियट्सलाई लेखापरीक्षकमा नियुक्त गरेको छ ।साथै सिभिल बैंकलाई हिमालयन बैंक लिमिटेडले प्राप्ती (एक्विजिशन) गर्ने सन्दर्भमा सो बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंक लिमिटेडको ८०.२८ कित्ता सेयर प्राप्त हुने गरी सेयर आदान प्रदान अनुपात (१००:८०.२८) कायम गरी प्राप्ती (एक्विजिशन) कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको छ ।
साथै सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ती-एक्विजिशन) गर्ने सम्बन्धमा भएको सम्पत्ती तथा दायित्वको मूल्याङ्कनकर्ताको नियुक्ती र निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (ड्यू डेलिजेन्स अडिट रिपोर्ट), समझदारीपत्र, तथा अन्तिम सम्झौता पत्र लगायतका सम्पूर्ण काम कार्यवाहीहरुलाई अनुमोदन गरिएको छ ।
यसै प्रसङ्गमा सिभिल बैंकको प्राप्ति गर्ने प्रक्रियामा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायहरुबाट स्वीकृति लिने/अभिलेख गर्ने क्रममा भए गरेका काम कारबाही वा पूँजी संरचना वा प्रबन्धपत्र नियमावलीको संशोधनको सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा प्राप्त निर्देशन बमोजिम मिलाई संशोधन वा परिमार्जन समेतका सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई पूर्ण अख्तीयारी प्रदान गरिएको छ ।
करिब ८ लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १३ एक्सटेन्सन काउन्टरहरु तथा १०२ एटीएम मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले हालसम्म रु. ९६ अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु. ८६ अर्ब बढी कर्जा लगानी गरिसकेकोे छ ।