काठमाडौं । नेपाल आयल निगमले गण्डकी प्रदेशमा १० हजार किलोलिटर क्षमताको भण्डारण गृह निमार्ण अन्तिम चरणमा पुगेको छ ।
निगमले पोखरा महानगरपालिकाको गगनगौँडास्थित प्रादेशिक कार्यालय परिसरमा निर्माण गरिरहेको डिजेल भण्डार गृहको काम ८० प्रतिशत बढी सम्पन्न भएको हो ।
१० हजार किलोलिटर तेल भण्डारण क्षमताको उक्त भण्डारण गृह निर्माण चालु आवभित्र सम्पन्न गर्ने गरी काम भइरहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए ।
उनका अनुसार उक्त भण्डारण गृह निर्माण चालु आर्थिक वर्ष भित्र पुरा गरि सञ्चालनमा ल्याउने तयारी रहेको छ । ‘१० हजार किलोलिटर डिजेल अट्ने भण्डारण गृह पोखरामा निर्माणको अन्तिम चरणमा रहेको छ, यो भण्डारण गृह निर्माण चाँडै पूरा गरेर चालु आवमै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ,’ थानीले भने ।
पूर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले २०७७ कात्तिक २७ गते उक्त भण्डारण गृहको शिलान्यास गरेका थिए । यो भण्डारण गृह अमलेखगञ्ज पछिको दोस्रो ठूलो भण्डारण गृह रहने निगमले जनाएको छ ।
निगमको गण्डकी प्रदेशअन्तर्गत आफ्नै स्वामित्वको जग्गामा १ करोड़ लिटर क्षमताको अत्याधुनिक डिपोको निर्माण सुरू गरिएको हो । सो मध्ये पहिलो चरणमा १० हजार लिटर तेल भण्डारण गृह पूरा हुन लागेको हो ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले उक्त भण्डारण निर्माणको काम ८० प्रतिशत हाराहारीमा सकिएको बताए । मूल्य अभिवृद्धि करबाहेक ७७ करोड ७७ लाख रूपैयाँ लगानीमा समानान्तर–रेलिगेयर–भारत ट्याङ्क्स जेभीले परियोजना निर्माणको ठेक्का लिएको छ ।
२०५८ सालपछि निगमले भण्डारण क्षमता विस्तार गर्न सकेको थिएन। यो योजना २०५८ सालपछि निगमको आफ्नै लगानीमा भएको पहिलो योजना समेत हो ।
गण्डकी प्रदेशको भण्डारण क्षमता अनुसार हाल डिजेलको माग ७ दिन र पेट्रोलको माग २ दिन मात्रै धान्न सक्ने क्षमता रहेको छ । नयाँ भण्डारण गृह सञ्चालनमा आएपछि प्रदेशमा ३० दिनको डिजेल र १२ दिनको पेट्रोलको माग धान्ने प्रक्षेपण गरिएको छ ।
परियोजना अन्तर्गत हालको डिपो हप्तामा ५ हजार किलोलिटर क्षमताका २ वटा ठूला डिजेल भण्डारण टयाङ्क निर्माण गरिँदैछ । साथै २ लाख लिटर क्षमताको पानी भण्डारण टयाङ्क, डिपोको चमेना गृह, चालक तथा सुरक्षाकर्मी बस्नका लागि नयाँ संरचना निर्माण गरिँदैछ ।
इन्धन भण्डारण ट्याङ्क र यसमा जडान हुने संरचना जर्मन प्रविधिमा आधारित पूर्ण अटोमेटेड हुने छन् । डिजेल लोड तथा अनलोड सुविधा पूर्णरूपमा स्वचालित हुनेछन् । डिपोको भण्डारण क्षेत्रमा अग्नि सुरक्षाका लागि विशेष प्रविधि र सावधानीको कार्य परियोजनाकै सिलसिलामा तयार गरिने छ ।