काठमाडौं । सेयर बजारमा तीव्र उतरचढाव आएको छ । बजार खुल्ने बित्तिकै ३० अंकले बढेको नेप्से अन्त्यमा ४१ अंकले घटेर बन्द भएको छ ।
माघदेखि ब्याजदर घट्ने समाचारले बजार खुल्ने बित्तिकै उकालो लागेको नेप्से प्रफिट बुक गर्ने हाबी हुँदा अन्त्यमा गिरावट आएको हो ।
सूचकमा गिरावट आए पनि कारोबार रकममा भने उत्साहजनक नै छ । आज झन्डै साढे ५ अर्बको सेयर कारोबार भएको छ ।
बिहीबार नेप्से ४१.०२ अंकले घटेर २१४९.४१ विन्दुमा आइपुगेको छ । यसदिन २५२ कम्पनीको ५ अर्ब ४७ करोड रुपैयाँ बढीको १ करोड ४४ लाख ८२ हजार ९५९ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ब्यापार बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.७० प्रतिशतले घटेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २२ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर साढे १७ करोड र ङादी ग्रुप पावर झन्डै १७ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले घटेको बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कुमारी धनवृद्धि योजना, सिंगटी हाइड्रोपावर बाराही हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
घट्दो बजारमा आज गरुाँस लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.१८ प्रतिशत गुमाएका छन् । त्यसैगरी, कालिका पावर ८.४८, बलेफी हाइड्रोपावर, स्वाबलम्बन लघुवित्त, खप्तड लघुवित्त, हिमालयन एभरेष्ट इन्स्योरेन्स र श्री इन्भेष्टमेन्ट कम्पनीको सेयर मूल्य ७ प्रतिशतले घटेको छ । अजोड इन्स्योरेन्स, श्वेत गंगा हाइड्रोपावर लगायत आधा दर्जन कम्पनीको मूल्य ६ प्रतिशतले घटेको छ ।