खुम्चिँदै बैंकको व्यवसाय, ६ महिनामा लक्ष्यको १०% पनि गरेनन् कर्जा लगानी

काठमाडौं । वित्तीय प्रणालीमा स्रोत अभावको असर बैंक तथा वित्तीय संस्थाको व्यवसायमा देखिएको छ । गत आर्थिक वर्षदेखि तलता अभावका कारण संस्थाहरूले कर्जा विस्तार गर्न सकेका छैनन् ।

कर्जा माग हुँदा प्रणालीमा स्रोत नहुने र स्राेत हुँदा माग नहुने समस्या देखिएपछि वित्तीय संस्थाहरूको व्यवसाय तथा नाफा खुम्चिने भएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुुसार चालु वर्षको साढे ५ महिना(साउन–पुस १८)सम्म बैंक तथा वित्तीय संस्थाहरूले ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

चालु आर्थिक वर्षका राष्ट्र बैंकले १२.६ प्रतिशत अर्थात् ५ खर्ब ९० अर्ब कर्जा विस्तार गर्ने लक्ष्य राखेको छ । तर, बैंकहरूले चालु वर्षको ६ महिनामा जम्मा ५२ अर्ब अर्थात् लक्ष्यको करिब ९ प्रतिशत मात्र कर्जा लगानी गरेका छन् ।

गत असार मसान्तसम्म संस्थाहरूले ४७ खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा पुससम्म आइपुग्दा ४७ खर्ब ६६ अर्ब रुपैयाँ लगानी गरेका हुन् । मूल्य र ब्याजदर वृद्धिले माग संकूचन हुँदा कर्जाको माग बढ्न सकेको छैन । जसको असर आर्थिक वृद्धि र बैंक तथा वित्तीय संस्थाको व्यवसाय विस्तारमा पर्ने भएको छ ।

गत वर्षको ६ महिनामै साढे तीन खर्ब बढी कर्जा लगानी गरेका संस्थाहरूले यस पटक भने राष्ट्र बैंकको नीति, अर्थतन्त्रमा आएको समस्या लगायतका कारणले कर्जा विस्तार गर्न सकेका छैनन् ।

राष्ट्र बैंकको नीतिगत व्यवस्थाले प्रणालीमा स्रोत अभाव र कर्जाको माग संकूचन भएको बैंकरहरू बताउँछन् । तरलता अभावको मुख्य कारक राष्ट्र बैंक, सरकार र बाह्य परिस्थिति भएको एक वाणिज्य बैंकका सीईओले बताए ।

‘प्रणालीमा तरलताको समस्या अहिले पनि छ । त्योभन्दा पनि माग छैन । अहिलेको समस्या राष्ट्र बैंकको माग संकूचन नीतिले ल्याएको हो,’ उनले भने, ‘यसमा केही अन्तर्राष्ट्रिय कारण पनि छन् । सरकारले पैसा लिएर थन्क्याउने काम मात्रै गरेको छ ।’ व्यवसाय नै खस्किय पछि संस्थाको नाफामा ठूलो गिरावट आउने उनको विश्लेषण छ ।

राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीति मार्फत निक्षेप–कर्जाको अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था लागू गरेको थियो भने यस वर्ष वैधानिक तरलता अनुपात(सीआरआर) एक प्रतिशतले बढाएर ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था लागू गरेको छ । यस नीतिले पनि संस्थाहरूको आधा खर्ब रुपैयाँ ढुकुटीमा बसेको छ । जसको कारण तरलताको समस्या झनै बढेको बैंकर बताउँछन् ।

अहिले औषतमा संस्थाहरूको सीडी रेसीयो ८६.६६ प्रतिशत छ । हाल प्रणालीमा लगानी योग्य २ खर्ब बढी छ भने संस्थाहरूको निक्षेप ५२ खर्ब ९४ अर्ब पुगेको छ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट वित्तीय प्रणालीमा तरलताको समस्या कम हुँदै गएको बताउँछन् । ‘अर्थतन्त्रको समस्या विस्तारै सुधार हुँदै गएको छ । वित्तीय क्षेत्रमा कायम तरलता अभाव तथा विनिमय संचितिको दबाब कम भएको छ,’ उनले भने ।

महंगी नियन्त्रण गर्न राष्ट्र बैंकले ब्याजदर वृद्धिको नीति लिएपछि माग संकुचन भएको छ । उच्च ब्याजदरका कारण कर्जाको माग घटेको बैंकहरूले बताएका छन् । गत वर्ष एकल अंकमा झरेको बैंकको ब्याजदर अहिले दोहोरो अंकमा छ ।

बैंकहरूले निक्षेपकै ब्याजदर १५ प्रतिशत दिइरहेका छन भने कर्जाको ब्याजदर १८ प्रतिशत पुगेको छ । आधारदर नै ११ प्रतिशत छ भने अन्तर बैंक ब्याजदर ८ प्रतिशत पुगेको छ । महंगो ब्याजले कर्जाको माग नहुँदा बैंकको व्यवसायमा असर परेको छ । संस्थाहरू कर्जा विस्तारमा आक्रामक बने स्रोत नहुने र स्रोत भए माग नहुने अवस्था आएको छ ।

बैंकको नाफामा गिरावट

चालु वर्षको पहिलो त्रैमासमै अधिकांश बैंक तथा वित्तीय संस्थाको नाफामा गिरावट आएको छ । व्यवसाय विस्तार गर्न नसक्दा नाफा अझै घट्ने बैंकरहरूको आकलन छ । यस अवधिमा एक दर्जन वाणिज्य बैंकको नाफा घटेको छ भने आधाभन्दा बढी लघुवित्त वित्तीय संस्था घाटामा छन् ।

विकास बैंकको पनि सोही अनुसार व्यसाय साँघुरिएको छ । लगानीको तुलनामा बैंकहरूले प्राप्त गर्ने प्रतिफल थोरै भएको भन्ने विश्लेषण गरिएपनि निजी क्षेत्रले भने बैंकले नाफा धेरै कमाएको भन्दै विरोध गर्दै आएका छन् ।

बैंकको लागत बढेको छ भने त्यस अनुसार प्राप्त गर्ने आम्दानी घट्दै गएको छ । सोही कारण गत वर्षको तुलनामा बैंक तथा वित्तीय संस्थाको नाफामा धक्का पुग्ने देखिन्छ ।

 

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी ९ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट Read Previous

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी ९ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

पेट्रोलियम पदार्थको भाउ घटाउन प्रधानमन्त्रीको निर्देशन Read Next

पेट्रोलियम पदार्थको भाउ घटाउन प्रधानमन्त्रीको निर्देशन