काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार ६४ अंकले बढेको नेप्से आज १८ अंकले बढेको हो । समग्र यस साता नेप्से ११६ अंकले बढेको छ ।
सूचकसँगै कारोबार रकममा पनि ठूलो बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम डेढ अर्बले बढेर ५ अर्ब नाघेको छ ।
बिहीबार नेप्से १८.०९ अंकले बढेर २१४३.९४ विन्दुमा पुगेको छ । यसदिन २५९ कम्पनीको ५ अर्ब ४ करोड रुपैयाँ बढीको १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये बैंकिङ र अन्य बाहेक अरु सबैको परिसूचकमा हरियाली छाएको छ । होटल समूह सबैभन्दा धेरै ५.५७ प्रतिशतले बढेको छ ।
आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको ४३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर २१ करोड र हिमाल दोलखा हाइड्रोपावर ११ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज ९ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । चन्द्रगिरी हिल्स, बुद्धभूमि नेपाल, खप्तड लघुवित्त, धौलागिरी लघुवित्त र श्रृजनशील लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, बाराही हाइड्रोपावर, हिमालयन ऊर्जा, इस्टर्न हाइड्रोपावर र हिमालयन हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।