काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको व्यवसायको सबैभन्दा धेरै हिस्सा मोटर बीमाले ओगटेको छ । निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय आधादर्जन बढी क्षेत्रमा रहे पनि मोटर बीमाको हिस्सा सबैभन्दा बढी अर्थात् एकतिहाइ हिस्सा ओगटेको छ ।
सवारी साधनको बढ्दो प्रयोग तथा अनिर्वाय बीमा गर्नुपर्ने सरकारको नीतिले कम्पनीहरूले बीमा व्यवसायलाई मोटर क्षेत्र केन्द्रीत बनाएका हुन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको तथ्यांक हेर्दा कुल निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ३४ प्रतिशत रहेको छ ।
यसअवधिमा निर्जीवन बीमा कम्पनीहरूले कुल १५ अर्ब ९७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा मोटर बीमाको पोलिसी बापत ५ अर्ब ४१ करोड रुपैयाँ आर्जन गरेका छन् । कम्पनीहरूले पाँच महिनामा मोटर बीमाका मात्र ७ लाख २३ हजार बीमा लेख जारी गरेको प्राधिकरणले जनाएको छ ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल माग वृद्धिले मोटर बीमाको व्यवसाय बढाएको बताउँछन् । ‘नेपालमा निर्जीवन बीमा भनेकै मोटर बीमा जस्तै भइसकेको छ । सुरूदेखि नै यसको पोर्टफोलियो बढ्दै गइरहेको छ,’ उनले भने, ‘जुन क्षेत्रको माग बढी छ, सोही क्षेत्रमा बढी हुने हो । व्यापार भनेकै मागमा भर पर्ने कुरा हो ।’
दूर्घटनाको जोखिम तथा केही सवारीको अनिवार्य बीमा गर्नुपर्ने सरकारको नीतिगत व्यवस्थाले पनि यसको हिस्सा बढाएको उनले बताए । उनका अनुसार माग दाबी पनि निर्जीवन व्यवसायमा सबैभन्दा बढी मोटर बीमाकै पर्ने गरेको छ ।
‘जुन पोर्टफोलियो बढी विक्री भएको छ, दाबी पनि त्यसकै बढी आउने हो । हाम्रो निर्जीवन क्षेत्रको बीमा व्यवसाय हेर्ने हो भने पहिले देखि नै बढी मोटरले नै ठूलो हिस्सा ओगटेको छ,’ उनी भन्छन् । सरकारले डेढ दशकअघि सवारी साधनको दुर्घटना बढे पनि अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था गरेको थियो ।
बीमा प्राधिकरणका अनुसार कम्पनीहरूले आवको ५ महिनामै ५ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन् । आव २०७३/७४ मा कम्पनीहरूले मोटर बीमा बापत ८ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेकोमा गत वर्षसम्म आउँदा १२ अर्ब बढी रकम संकलन गरेको छ । प्राधिकरणको तथ्यांक अनुसार कम्पनीहरूको मोटर बीमाको व्यवसायीक हिस्सा बढ्दै गएको छ ।
२०७४/७५ मा कम्पनीहरूको बीमा व्यवसायमा मोटर बीमाको ९ अर्ब ५४ करोड ४ लाख रुपैयाँको योगदान छ । आव २०७५/७६ मा कम्पनीहरूले १० अर्ब ८६ करोड, २०७६/७७ मा मोटर बीमाबाट १० अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
सहर केन्द्रीत व्यवसाय
निर्जीवन बीमाका विभिन्न क्षेत्र भए पनि कम्पनीहरूले त्यसअनुसारको दायरा भने बढाउन सकेका छैनन् । सहरमुखी व्यवसायको खोजी गर्दा बीमा कम्पनीहरूका लागि निर्जीवन बीमा भनेकै मोटर बीमा बनेको छ ।
सोही व्यवसायलाइ मध्येनजर गरेर कम्पनीहरू बीच व्यवसायिक प्रतिस्पर्धा चलेको छ । मोटर बीमाको तुलनामा इन्जिनीयरिङ, सामुन्द्रिक, अग्नि, कृषि तथा पशुपन्छी बीमाको हिस्सा न्यून छ । कतिपय बीमाका क्षेत्र हुँदाहुँदै पनि कम्पनीको अटेर र नियामक निकायले नियमन गर्न नसक्दा त्यस्ता क्षेत्रमा पहुँच बढ्न सकेको छैन ।
व्यवसायको हिस्सा कम र लागत बढी हुने भएपछि ग्रामीण क्षेत्रमा बीमा कम्पनीहरू जान मान्दैनन् । जसको कारण कम्पनीको संख्यामा भएको वृद्धि अनुसार बीमाको पहुँच वृद्धि हुन सकेको छैन ।
ग्रामीण क्षेत्रमा जोखिम व्यवस्थापन आवश्यक पर्ने निर्जीवन बीमा कम्पनीका क्षेत्रहरू धेरै छन् । तर, कम्पनीको पहुँचमा छैनन् । सोही कारण ती क्षेत्रको जनसंख्या र जोखिम बीमाको पहुँच बाहिर छ ।
प्राधिकरणले अनिवार्य लघुबीमा गर्नुपर्ने नियम बनाए पनि त्यसअनुसार भने कम्पनीहरूले बीमा गरेको देखिँदैन । लघु बीमाको क्षेत्र समेट्न भन्दै सातै प्रदेशमा जीवन र निर्जीवन बीमा कम्पनीको खोलिसकेको छ । प्राधिकरणको तथ्यांक हेर्दा सबैभन्दा धेरै निर्जीवन बीमा व्यवसाय र पहुँचको दायरा पनि बाग्मती प्रदेशमा सबैभन्दा धेरै छ ।
भविष्यमा आइपर्ने जोखिम व्यवस्थापनका लागि गरिने भए पनि निश्चि क्षेत्र बाहेक व्यवसायीक पहुँच अन्य क्षेत्रमा पग्न सकेको छैन ।