एशियन हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २७ गतेदेखि आयोजना प्रभावित क्षेत्र इलामका स्थानीय बासिन्दाका लागि विक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ४० लाख रुपैयाँ बराबरको ३ लाख ४० हजार कित्ता सेयर विक्रीमा ल्याएको हो ।

जसमध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. १०, माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ र सूर्योदय नगरपालिका वडा नं. ११ का स्थानीका लागि १ लाख ३६ हजार कित्ता छुट्याइएको छ । बाँकी २ लाख ४ हजार कित्ताका लागि अति प्रभावित क्षेत्रबाहेकका इलाम जिल्लाका अन्य क्षेत्रका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाले एनएमबी बैंक, सिभिल बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखाका साथै नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्य अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।कम्पनीको आइपीओलाई रेटिङमा एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

कम्पनीले इलाम जिल्लामा ६.२ मेगावाटको तल्लो जोगमाई खोला जलविद्युत आयोजना सम्पन्न गरी २०७८ कात्तिक १५ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ। सो आयोजनाको कुल लागत १ अर्ब ३९ करोड १५ लाख ३० हजार रुपैयाँ रहेको छ। आयोजनाको प्रति मेगावाट लागत २९ करोड १५ लाख ३७ हजार ९७ रुपैयाँ रहेको छ।

पोलभाडा नतिर्ने इन्टरनेट प्रदायकको उल्टै सेवा बन्द गर्ने धम्की, सर्वसाधारण मर्कामा Read Previous

पोलभाडा नतिर्ने इन्टरनेट प्रदायकको उल्टै सेवा बन्द गर्ने धम्की, सर्वसाधारण मर्कामा

मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय, एकतिहाइ बढी हिस्सा Read Next

मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय, एकतिहाइ बढी हिस्सा