पुस २१ गतेदेखि अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुने

काठमाडौं । जुत्ता तथा चप्पलसम्बन्धी स्वदेशी उत्पादनबारे नेपाली बिक्रेता र उपभोक्तालाई जानकारीदिने उद्देश्यले ‘१६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी’ हुने भएको छ ।

नेपालमा पहिलो पटक हुन लागेको प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा पुस २१ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल जुत्ता उत्पादक सङ्घले प्रदर्शनीबारे जानकारी दिएको हो ।

प्रदर्शनी संयोजक सुरज बञ्जाडेले स्वदेशी जुत्ता, चप्पल बढी खपत हुन नसक्नु मुख्य कारण कम प्रतिस्पर्धी भएको बताए । उनले भने, ‘बजार अनुगमन गर्ने क्रममा ग्राहक संगै बिक्रेतालाई समेत नेपाली उत्पादनको गुणस्तरका विषयमा कम ज्ञान भएको देखियो । प्रदर्शनीबाट सबैले जानकारी पाउन सक्नेछन् ।’

देशभरबाट १२ उद्योगसहित ५ हजार उद्योगी, बिक्रेताले सहभागिता जनाउने अपेक्षा गरिएको छ । प्रदर्शनीले स्वदेशी उत्पादनलाई बाह्य बजारमा समेत बिस्तार गर्न सहयोग पुग्ने उनको भनाइ छ । प्रदर्शनीमा विदेशी कच्चपदार्थ, मेशिनरी र प्रविधिसहितको ४० भन्दाबढी कम्पनीका प्रदर्शनी कक्ष र नेपाली फुटवेयरका ९० कम्पनी सहभागी हुनेछन् ।

सङ्घका अध्यक्ष नानीराज घिमिरेले स्वदेशी माग पूरा गर्न आत्मनिर्भर भए पनि चोरी पैठारीका कारण समस्या भएको बताए । उनले भने, ‘चोरी पैठारी, न्यून विजकीकरण, दक्ष जनशक्तिको अभाव र अनियन्त्रित सस्तो जुत्ताको आयातले स्वदेशी उद्योगलाई प्रभाव पारेको छ ।’

नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगको सङ्ख्या १ हजार ५०० रहेका छन् । नेपाली उद्योगको वार्षिक हाल ५ करोड जोर उत्पादन गदै आएको बताए । यस क्षेत्रमा रु ३० अर्बभन्दा बढीको लगानी र रु ४ अर्बभन्दा बढी बैंक कर्जा रहेको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ मा ४ करोड ११ लाख ४६ हजार १११ जोर जुत्ता, चप्पल आयात भएको छ । २७ लाख ६४ हजार ६४३ जोर जुत्ता, चप्पल निर्यात भएको छ । उद्योगीका अनुसार ३५ प्रतिशत क्षमतामा मात्र उद्योग सञ्चालनमा आएका छन् । विश्वका १८ देशमा नेपाली चुत्ता, चप्पल निर्यात हुने गरेका छन् ।

चार वाणिज्य बैंकलाई मर्ज हुन राष्ट्र बैंकको अन्तिम स्वीकृति Read Previous

चार वाणिज्य बैंकलाई मर्ज हुन राष्ट्र बैंकको अन्तिम स्वीकृति

सन् २०२२ मा भित्रिए ६ लाख १४ हजार पर्यटक, ३४ प्रतिशत भारतीय Read Next

सन् २०२२ मा भित्रिए ६ लाख १४ हजार पर्यटक, ३४ प्रतिशत भारतीय