केयूमा उच्च शिक्षा हासिल गर्न लक्ष्मी बैंकको छात्रवृत्ति कार्यक्रम

काठमाडौं । लक्ष्मी बैंकले विज्ञान, प्रविधि, इन्जिनियरिङ वा गणित विषयमा स्नातकोत्तर वा विद्यावारिधि अध्ययन गर्न चाहने महिलालाई छात्रवृत्ति प्रदान गर्न काठमाडौं विश्वविद्यालयसँग समझदारी गरेको छ । बैंकले आफ्नो २०औं वार्षिकोत्सवको प्रतिबद्धतास्वरुप विश्वविद्यालयसँग उक्त सम्झौता गरेको हो ।

सो सम्बन्धी समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र काठमाडौं विश्वविद्यालय इन्डेमेन्ट ड्राइभ समितिका संयोजक प्रा.डा. विपिन अधिकारीले हस्ताक्षर गरे ।

उक्त छात्रवृत्तिमार्फत लक्ष्मी बैंकले आर्थिकरुपमा विपन्न तथा जेहेन्दार महिला विद्यार्थीलाईे उच्च शिक्षा हासिल गर्न सहयोग गर्नेछ । छात्रवृत्ति पाउन योग्य विद्यार्थीको छनौट सम्बन्धी प्रकृया काठमाडौं विश्वविद्यालयकै मातहतमा हुनेछ भने बैंकले छात्रवृत्तिका लागि आर्थिक सहयोग प्रदान गर्ने तथा त्यसको प्रवद्र्वन गर्नेछ ।

छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि बैंकले रु १ करोड बराबरको अक्षयकोषको स्थापना गर्नेछ । सो कोषमा प्राप्त हुने ब्याजको ५० प्रतिशत रकम कोषमै थप हुने र बाँकी ५० प्रतिशत रकम विद्यार्थीको अध्ययन सम्बन्धी खर्च व्यहोर्न प्रयोग हुनेछ ।

लक्ष्मी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व रणनीति अन्तर्गतको प्रमुख प्राथमिकतामा रहेको लैंगिक समानताको उत्थानका लागि यस छात्रवृत्ति कार्यक्रमको माध्यमबाट योगदान पुर्याउँदै महिलाहरुले फरक पृष्ठभूमिको बाबजूद उपयोग्य तथा आफ्नो छनौटको पेशा अवलम्बन गर्न आवश्यक सहायता, आत्मविश्वास तथा दक्षता प्राप्त गरी समतामूलक समाज निर्माणमा सहयोग पुग्ने विश्वास लिएको छ ।

समृद्ध नेपाल निर्माणका लागि आधा भन्दा बढी जनसंख्या ओगट्ने महिलावर्गको सशक्तीकरण अत्यावश्यक रहेको बैंकको धारणा रहेको छ ।

नोटबाट बनेका ब्रिकेट बेच्दै राष्ट्र बैंक Read Previous

नोटबाट बनेका ब्रिकेट बेच्दै राष्ट्र बैंक

फूड रियालिटी शो ‘सेफ नेपाल’को छायांकन सेट सार्वजनिक Read Next

फूड रियालिटी शो ‘सेफ नेपाल’को छायांकन सेट सार्वजनिक