काठमाडौं । नेपालकै पहिलो फूड रियालिटी शो ‘सेफ नेपाल’ को छायांकन सेट सार्वजनिक गरिएको छ । भक्तपुरको ठिमीस्थित रोयल थाइ हस्पिट्यालिटीको प्राङ्गणमा पुस १५ गते शोको सेट सार्वजनिक गरिएको हो ।
शोका मास्टर जज सेफ सन्तोष साहले सेट ढाकिएको पर्दा झारी सेट अनावरण गरे । अन्य जजहरु सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारी पनि उक्त अवसरमा उपस्थित थिए ।
शोका निर्माता धर्मराज पाण्डेले कार्यक्रमको तालिका, प्रतियोगी, तथा शोको उद्देश्य बारे प्रष्ट पारेका थिए । उनले भने, ‘टेलिभिजनको पर्दाबाट खाना पकाउँदै दर्शकलाई मनोरञ्जन प्रदान गर्ने हाम्रो उद्देश्य हो । नेपाली खानाको प्रवद्र्धन, सेफ जगतको उत्थान, पाक कलाबारे चेतना, खाना र स्वास्थ्यको सम्बन्ध लगायत अनेक महत्वपूर्ण विषय यो शोले उजागर गर्नेछ ।’
छायांकन सेट सार्वजनिक भएपछि सुटिङ पनि चाँडै सुरु हुने उनले बताए । ८० जनाले भाग लिने शो १८ इपिसोडको हुनेछ । ‘सेफ नेपाल’ हिमालय टीभीबाट प्रसारण हुनेछ ।
शोका विजेताले नगद २५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । १० लाखभन्दा बढीको उपहार दर्शकले शोको क्विज सेग्मेन्टमार्फत प्राप्त गर्नेछन् । शोले नेपाली खानाबारे ज्ञान, नयाँ परिकार, खाना पस्किने कला लगायत पक्षलाई समेट्ने भएको छ ।
नेपालको ‘गेस्ट्रोनोमी टुरिजम’लाई समेत शोले सघाउने आशा लिइएको छ । शो ले भर्पुर मनोरन्जन, नेपाली खाना बारे ज्ञान, नयाँ नयाँ खानाको परिकार, खाना पस्कने नयाँ कला लगाएत धेरै बिषयलाई समेट्ने छ । नेपालको गेस्ट्रोनोमि टुरिजममा समेत यो कार्यक्रमले टेवा पुर्याउने छ ।