काठमाडौं । वागमती प्रदेशको मासु उत्पादनमा पोल्ट्री व्यवसायको योगदान ६९ प्रतिशत रहेको वाग्मती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
साथै राष्ट्रिय अण्डा उत्पादनमा वाग्मती प्रदेशको योगदान ६० प्रतिशत रहेको समेत छ । ‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता खाद्य र पोषण सुधार’ भन्ने नाराका साथ भएको दशौं पोल्ट्री दिवस सप्ताहव्यापी कार्यक्रमका अवसरमा आज हेटौंडामा आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो ।
मन्त्रालयको प्रतिवेदनअनुसार वागमती प्रदेशमा १ लाख ६३ हजार ३०९ मेट्रिक टन मासु उत्पादन हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । जसमा वाग्मती प्रदेशमा एक लाख १३ हजार ४३२ मेट्रिक टन कुखुरा तथा हाँसको मासु उत्पादन हुने गरेको छ ।
साथै प्रदेशमा कूल अण्डा उत्पादन ८ लाख ९९ हजार ३३५ गोटा रहेको छ । प्रतिवेदनमा उल्लेख गरिएको अनुसार वाग्मती प्रदेशभित्र सञ्चालित पोल्ट्री व्यवसायले देशको कुल मासु उत्पादन तथा अण्डा उत्पादनमा क्रमशः २२ र २६ प्रतिशत रहेको छ ।
मकवानपुर जिल्लामा मात्र वार्षिक रुपमा ६ हजार ७७१ मेट्रिकटन कुखुरा तथा हाँसको मासु उत्पादन हुने गरेको छ । जिल्लामा वार्षिकरुपमा २१ लख ३० हजार कुखुरा तथा ४ हजार ३०० हाँस गरी जम्मा २१ लाख ३४ हजार ७३८ वटा कुखुरा र हाँसपालन भइरहको सो मन्त्रालयले जनाएको छ । जिल्लामा ३६ हजार ५०० गोटा अण्डा उत्पादन हुने गरेको छ ।
मन्त्रालयका डा निशान्त शर्मा गेलालले प्रतिवेदन प्रस्तुत गर्दै प्रदेश सरकारले प्रदेश पोल्ट्री विकास बोर्डको स्थापना गरेर सञ्चालनको प्रक्रिया अगाडि बढाइएको जानकरी दिए।
प्रदेश सरकारले प्रदेश कृषि विकास अध्यादेश,२०७९ बनाएको र प्रमाणीकरणको चरणमा रहेको वाग्मती प्रदेश सरकारले किसानलाई लक्षित गरेर रु ५ करोडको बजेट छुट्याएर स्थायी क्षतिपूर्ति कोषसमेत स्थापना गरी सञ्चालन गरिएको उनले भने ।
साथै किसानहरुको वर्गीकरण गरेर परिचयपत्र गरिने र उत्पादित वस्तुको बजार उपलब्ध गराउनुपर्ने समेत डा गेलालको भनाइ रहेको छ । भेटेरिनरी अस्पताल मकवानपुर हेटौंडाका प्रमुख डा व्रजकिशोर ठाकुरले प्रदेशभित्र दानाको परीक्षण र गुणस्तरसम्बन्धी मापदण्ड तयार गरी लागू गर्नुपर्ने बताए ।
मकवानपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष तथा पोल्ट्री व्यवसायी राजु अधिकारीले मकवानपुरमा पोल्ट्री व्यवसायीको सङ्ख्या घट्दै गएकामा चिन्ता व्यक्त गर्दै विगतमा ३ हजार मकवानपुरमा पोल्ट्री व्यवसायी रहेकामा अहिले घटेर एक हजार मात्र रहेको जानकारी दिए। किसानले उत्पादन र लगानी गरेको आधारमा बजार मूल्य नपाएको बताउँदै पोल्ट्री व्यवसायसँग सम्बन्धी स्पष्ट कानुनी व्यवस्था आउनुपर्ने धारणा व्यक्त गरे ।
दशौं राष्ट्रिय पोल्ट्री दिवस सप्ताहव्यापी कार्यक्रमको अवसरमा सो मन्त्रालय र पोल्ट्री व्यवसायीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी विभिन्न स्थानमा चेतनामूलक कार्यक्रम गरिरहेको छ ।