जगदुल्ला जलविद्युतको पीपीए अन्तिम चरणमा, आगामी वर्षदेखि निर्माण थालिने

जाजरकोट । जगदुल्ला जलविद्युत् आयोजना आगामी वर्षदेखि निर्माणमा जाने भएको छ । आयोजनाले मुआब्जा वितरण, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र विद्युत् खरिद विक्री सम्झौता (पीपीए)को काम पनि अन्तिम चरणमा पुगेको छ । ।

आयोजनाका व्यवस्थापक सञ्जय सापकोटाले अर्को वर्षदेखि निर्माण सुरु गर्ने बताए । २५२ रोपनी जग्गा अधिग्रहणदेखि डीपीआर सम्पन्न भइसकेको सापकोटाले बताए । अर्धजलाशयुक्त आयोजना स्वदेशी लगानीबाट निर्माण गर्ने भनिएको छ ।

आयोजनाको विद्युत् खरिद विक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौताका लागि फाइल पुगेको आयोजना प्रमुख सापकोटाले बताए। विद्युत् उत्पादनगृह रहेको इलमा सडक लैजानका लागि त्रिवेणीबाट काम सुरु भएको र विद्युत् उत्पादनगृहलगायतका ठाउँमा पूर्वाधारका काम भइरहेको उनले बताए ।

त्यस्तै आयोजना निर्माण गर्न एक वर्षभित्र ठेकेदार र परामर्शदाता छनोटको काम सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । निर्माण सुरु भएको ५ वर्षभित्र विद्युत् उत्पादन हुने आयोजना प्रमुख सापकोटाले दाबी गरे । जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २३ मिटर अग्लो ड्याम निर्माण गरेर ६.१ किलोमिटर सुरुङमार्फत मुड्केचुला गाउँपालिका–४ इलमा पानी खसालेर विद्युत् १०६ मेगावाट विद्युत् उत्पादन हुने छ ।

आयोजना निर्माण गर्न विभिन्न निकायले सेयर लगानी गर्ने बताएको छ । सेयर लगानीकर्तामा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको ९ प्रतिशत रहेको छ । त्यस्तै कर्णाली प्रदेश सरकारको ५ प्रतिशत र प्रभावित क्षेत्रका दुई पालिका मुड्केचुला र जगदुल्लाको १ प्रतिशत सेयर रहेको छ । बाँकी ४९ प्रतिशत सेयर सर्वसाधारणका लागि भन्दै सबैका लागि खुला गरिने बताइएको छ ।

रु २० अर्ब लगानीमा निर्माण हुने आयोजनाबाट दैनिक रु एक करोड २० लाख आम्दानी हुने कम्पनीले जनाएको छ । आयोजना निर्माणपछि राज्यलाई वार्षिक झण्डै रु २९ करोड राजस्व उपलब्ध हुने बताइएको छ । विसं २०७४ जेठ १६ गते कम्पनी स्थापना गरिएको थियो ।

प्रदेश सरकारले ११ लाख ७१ हजार पाँच सय कित्ता सेयर खरिद गरेवापत रु ११ करोड ७१ लाख ५० हजार रकम जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडलाई अघिल्लो वर्ष भुक्तानी गरिसकेको छ । यही ठाउँमा ८३ मेगावाटको अर्को जलविद्युत् आयोजना निर्माण गर्न अहिले सम्भाव्यता अध्ययनको कामसमेत सुरु भएको छ ।

भेरी करिडोर निर्माण तीव्र

जगदुल्ला जलविद्युत् आयोजनालगायतका आयोजना निर्माण गर्न भेरी करिडोरमा स्तरोन्नतिको कामलाई तीव्र बनाएको छ । जाजरकोट सदरमुकामबाट तल्लुसम्मको सडक पक्की गर्ने काम सुरु भएको छ ।

त्यस्तै तल्लु र अनाहबीचमा रहेको भेरी नदीको पुल निर्माण अन्तिम चरणमा पुर्याएको छ । अन्य सहायक पुल निर्माणको कामसमेत चर्को दबाबपछि सुरु गरिएको सडक डिभिजन चौरजहारीले जनाएको छ । केन्द्रीय प्रसारण लाइनको विद्युत् पुर्याउनका लागि काम जारी रहेको छ । लाइन प्रसारणको काम अहिले तल्लुसम्म पुगेको र डोल्पाको पालिकास्तरको काम गर्न विद्युत् प्राद्यिकरणले बोलपत्र आह्वान गरी काम सुरु गरेको छ ।रासस

बजारमा नेपाली कागजको माग उच्च, उत्पादन कम Read Previous

बजारमा नेपाली कागजको माग उच्च, उत्पादन कम

मासु उत्पादनमा पोल्ट्री व्यवसायको ६९ प्रतिशत योगदान Read Next

मासु उत्पादनमा पोल्ट्री व्यवसायको ६९ प्रतिशत योगदान