काठमाडौं । निजी क्षेत्रको नेपाल डेरी प्रालिले दूधको मूल्य बढाएको छ । कृषकको लागत बढेको र उत्पादन समेत घटेको भन्दै डेरीले मापदण्ड विपरीत आफूखुसी दूधको मूल्य बढाएको हो ।
नेपाल डेरीले प्रतिप्याकेट दूधको मूल्य ५ रुपैयाँ बढाएर ५० रुपैयाँ पुर्याएको छ । यसअघि डेरीले प्रतिप्याकेट दूध ४५ रुपैयाँमा बेच्दै आएको थियो ।व्यवसायीले दूधको मूल्य प्रतिलिटर १० देखि १४ रुपैयाँसम्म बढाएका हुन् ।
निजी उद्योगले मापदण्ड विपरीत मनलाग्दी दूधको मूल्य बढाएका हुन् । राष्ट्रिय दुग्ध विकास ऐन तथा नीतिअनुसार हरेक २/२ वर्षमा दूधको मूल्य बढाउने/समायाेजन हुने व्यवस्था छ । यसअघि २०७८ माघमा मात्रै सरकारले दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाएको थियो । मूल्य वृद्धि गरिएको १ वर्ष नपुग्दै फेरि निजी उद्योगले दूधको मूल्य बढाएका हुन् ।
नेपाल डेरी प्रालिका निर्देशक अरनिको राजभण्डारीका अनुसार दूधको मूल्य बजारमा प्रतिप्योकट ५० रुपैयाँ पुर्याइएको हो । उनले दूधको उत्पादन ३० देखि ३५ प्रतिशतले घटेको भन्दै किसानले पाउने रकम नबढाए आउँदो समयमा भारतबाट दूध आयात गर्नुपर्ने दिन आउने बताए ।
उनका अनुसार हाल दूधको संकलन बढ्नु पर्ने भए पनि उत्पादन घटेकाले संकलन समेत घटेको बताए । उनले विगतका समयमा वर्षेनी २ करोड लिटर दूध बढी संकलन भएर पाउडर दूध बनाउनु पर्ने थियो । हाल संकलीत दूध पाउडर दूध बनाउन समेत नपुगेको उनले बताए ।
‘पहिला दूध संकलन धेरै भएर पाउडर बनाएर राख्थ्यौं, अहिले पाउडर बनाउन दूध नै छैन, यस्तै भए सुख्खा सिजनमा कसरी धान्न सकिन्छ,’ निर्देशक राजभण्डारीले चाणक्य पोष्टसँग भने ‘किसानले पाउने रकममा १२ रुपैयाँसम्म ठाउँ हेरी मूल्य बढाएका हौँ, सरकारी डेरीले १ रुपैयाँ बढाउन समेत किचकिच गरिरहेको अवस्थामा हामीले बढाएका हौँ । यसले किसानलाई अझै बढी दूध उत्पादन गर्नमा प्रोत्साहन हुन्छ ।’
उनले विगतमा पुष महिनामा दूध राख्ने ठाउँ नभएर फ्याक्नु पर्ने अवस्था आउने गरेकोमा यो वर्ष दूध उत्पादन घटेको बताए । यस्तै अवस्था भए अफ सिजनमा वैशाखदेखि दूध भारतबाट आयात गर्नुपर्ने अवस्था सृजना हुने उनले बताए ।
नेपाल सरकारको न्यूनतम समर्थन मूल्य प्रतिलिटर ६१ रुपैयाँ रहेको छ । हामीले त्यसमा ठाउँ अनुसार १२ रुपैयाँसम्म वृद्धि गरेका किसानलाई दिएका छौँ । अहिले नजिक टाढा हेरेर ६५ रुपैयाँदेखि ७२ रुपैयाँसम्म प्रतिलिटर दूधको मूल्य किसानलाई दिएको उनले जानकारी दिए ।
‘हाम्रो फ्याक्ट्रीमा यत्रो लगानी छ, फ्याक्ट्रीमा दूध छैन, किसानलाई बढि पैसा दियो भने त उनीहरूले दूध बढि उत्पादन गर्न थाल्छन्,’ उनले भने ‘न्यूनतम समर्थन मूल्यभन्दा कम रकम पो किसानलाई दिनु भएन बढि त हामीले दिन पाइहाल्छौँ नी ।’
डेरी उद्योगलाई नेपाल सरकारले वास्ता नगरेको उनको गुनासो छ । विगतमा २१ हजार लिटर दूध दैनिक संकलन गर्ने नेपाल डेरीले हाल १८ हजार दूध मात्र संकलन भएको छ । विगतमा दैनिक संकलन हुने दूधमध्ये नेपाल डेरीले ३ हजार लिटर दूधको पाउडर दूध बनाउने गरेको थियो ।
डेरी आफूखुसी मूल्य बढाउन पाउँदैनन्
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले दूधको मूल्य आफूखुसी बढाउन नपाउने बताए । उनका अनुसार दूधको मूल्य २ वर्षमा एक पटक सबैको सहमतीमा बढाउने नीति रहेको छ । यस अघि २०७८ माघमा सरकारले दूधको मूल्यमा १० रुपैयाँ बढाएको थियो ।
‘हामीले २०७८ मा उपभोक्ता, उद्योगी, संघ, सरकारी निकाय सबैलाई सँगै राखेर दूधको मूल्य बढाएका थियौँ, यो राज्यको नियन्त्रणमा रहेको विषय हो त्यसैले राज्य विपरीत गएर मूल्य बढाउन पाइँदैन,’ यादवले चाणक्य पोष्टसँग भने ‘उहाँहरूले सल्लाहा बिना कसरी बढाउनुभयो थाहा छैन ।’
यस्तै, केन्द्रीय दुग्ध उत्पादक संस्थानका निर्देशक अमर कुँवरले किसानलाई दूधको मूल्य बढाएर दिए पनि बजारमा विक्री हुने दूधको मूल्य आफूखुसी बढाउन नपाइने बताए । यस विषयमा नेपाल डेरीले कुनै छलफल बिना नै आफूखुसी दूधको मूल्य तोकेकोमा उनले घोर आपत्ति जनाएका थिए ।
डीडीसीको मूल्य भने यथावत
दुग्ध विकास संस्था (डीडीसी) का महाप्रबन्धक संजीव झाले डीडीसीले भने दूधको मूल्यमा केही परिवर्तन नल्याएको बताए । उनका अनुसार हाल बजारमा दूधको संकलन ४० प्रतिशतसम्म घटेको छ । उत्पादन बढ्ने समयमा समेत दूध संकलन बढ्न नसकेकाले ड्राइ सिजनमा दूध आयात गर्नुपर्ने हुन सक्ने उनले बताए ।
कात्तिकदेखि चैतसम्म दूधको उत्पादन बढ्ने सिजन भए पनि बैशाख देखि दूधको उत्पादन घट्ने गरेको छ । यो वर्ष सिजनमै दूध उत्पादन र संकलन घट्दै गर्दा वैशाखबाट कच्चा दूध भारतबाट ल्याउनु पर्ने अवस्था सृजना हुने उनले बताए ।
‘दूधको संकलन घटेको हो, अहिले सिजनमा दूधको उत्पादन घट्दा संकलन पनि घट्नु स्वभाविक हो तर, सिजनमै यसरी घट्दा वैशाखबाट कच्चा दूध भारतबाट आयात गर्नुपर्ने पनि हुन सक्छ,’ झाले चाणक्य पोष्टसँग भने ।