धान उत्पादन ४ लाख मेट्रिकटन बढ्यो, खेती हुने जमिन भने वर्षेनी घट्दै

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा यसवर्ष धान उत्पादन केही बढेको देखिए पनि अघिल्ला वर्षको तुलनामा भने न्यून देखिएको छ । धान उत्पादन मात्र नभई पछिल्ला वर्षमा धान खेती हुने जमिनको क्षेत्रफल पनि निरन्तर घट्दो छ । यद्यपि, धानको उत्पादकत्व र वार्षिक उत्पादन वृद्धिदरमा भने क्रमशः सुधार हुँदै गएको देखिन्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार सार्वजनिक गरेको ‘चालु आर्थिक वर्ष २०७९/८० को धान उत्पादनसम्बन्धी विवरण’ अनुसार यसवर्ष १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकोमा ५४ लाख ८६ हजार ४७२ मेट्रिकटन उत्पादन भएको छ । जबकि, गत आर्थिक वर्ष २०७८/७९ मा देशभरको १४ लाख ७९ हजार ३७८ हेक्टर जमिनमा धान खेती गरिएको थियो । जसबाट ५० लाख ४७ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।

चालु आर्थिक वर्षको तुलनामा गतवर्ष धानखेती भएको जमिनको क्षेत्रफल बढी देखिन्छ । तर उत्पादन कम छ । त्यसअघिका तीन आर्थिक वर्षमा भने अहिलेको भन्दाबढी धान उत्पादन भएको थियो । मन्त्रालयको विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ मा ५६ लाख १० हजार, २०७६/७७ मा ५५ लाख ५० हजार र २०७७/७८ मा ५६ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।

त्यस्तै, धान खेती हुने जमिनको क्षेत्रफल पनि निरन्तर घट्दो देखिएको छ । आर्थिक वर्ष २०७३/७४ मा नेपालले धानखेती गरेको जमिनको क्षेत्रफल १५ लाख ५२ हजार ४६९ हेक्टर बराबर थियो । त्यो क्रमशः घट्दै गएर यसवर्ष १४ लाख ४७ हेक्टरमा खुम्चिएको छ । आर्थिक वर्ष २०७४/७५ मा १४ लाख ६९ हजार ५४५ र आर्थिक वर्ष २०७५/७६ मा १४ लाख ९१ हजार ७४४ हेक्टरमा धान खेती भएको थियो । त्यस्तै, २०७६/७७ मा १४ लाख ५८ हजार ९१५ र २०७७/७८ मा १४ लाख ४९ हेक्टर जमिनमा धान खेती भएको देखिन्छ । गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा यसवर्ष धान बाली लगाइएको समग्र क्षेत्रफल दुई प्रतिशतले घटेको देखिन्छ ।

यसवर्ष समग्र उत्पादनमा ६.९४ प्रतिशतले र उत्पादकत्वमा ९.१२ प्रतिशतले बढेको छ । गतवर्ष एक हेक्टर जमिनमा ३.४१ मेट्रिकटन बराबर धान फलेको थियो । यसवर्ष एक हेक्टरमा ३.७९ मेट्रिकटन धान फलेको देखिन्छ ।

प्रदेशगतरुपमा गत आर्थिक वर्षको तुलनामा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब ३३.३३ प्रतिशतले धान उत्पादन वृद्धि भएको छ । गतवर्ष मौषमी वर्षाका कारण सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा निकै क्षति भएका कारण उत्पादनमा पनि कमी आएको थियो । यसवर्ष अवस्था सामान्य भएकाले गतवर्षको तुलनामा उत्पादन बढी देखिएको हो ।

गत वर्षको तुलनामा लुम्बिनी प्रदेशमा १५.२ प्रतिशत, प्रदेश–१ मा ५.७२ प्रतिशत र कर्णालीमा ३.४६ प्रतिशतले धान उत्पादन बढेको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै, बागमती प्रदेशमा १.४५ प्रतिशतले, गण्डकी प्रदेशमा ३.७४ प्रतिशत र मधेश प्रदेशमा ०.१८ ले बढेको छ ।

यसवर्ष नेपालको कूल गार्हस्थ्य उत्पादनमा धान उत्पादनले करिब ४ प्रतिशत बराबर योगदान गरेको पनि मन्त्रालयले जनाएको छ । गतवर्षको तुलनामा यसवर्ष धान उत्पादन वृद्धिहुनुको कारण गतवर्ष धानबाली भित्र्याउने बेलामा २०७८ असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म सुदूरपश्चिम र लुम्बिनीमा भारी वर्षा भएको थियो । जसको असर उत्पादनमा देखिएको हो । बेमौषमी वर्षाकै कारण गतवर्ष लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक लाखभन्दा बढी हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा करिब ८.७४ प्रतिशत उत्पादनमा कमी आएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेल गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन बढी देखिनुमा केही महत्वपूर्ण कारण रहेको बताउँछन् । ‘यस वर्ष मौसम औसत रहेको, ढिलोगरी भए पनि तराइका जिल्लामा रासायनिक मल उपलब्ध भएको, उन्नत तथा हाइब्रिड जातको बीउ प्रयोग हुनु र स्थानीय तहसम्म कृषि प्रविधिको पहुँचमा केही वृद्धि भएका कारण धान उत्पादनमा सामान्य वृद्धि भएको हो,’ प्रवक्ता सञ्जेलले भने ।

सबै प्रदेशका कृषि मन्त्रालय र जिल्लाबाट प्राप्त धानबाली लगाइएको क्षेत्रफल तथा उत्पादनका आधारमा कृषि तथ्याङ्क प्राविधिक समितिको सिफारिसले यो विवरण तयार पारेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा Read Previous

घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा

मापदण्ड विपरीत निजी डेरीले आफूखुसी बढाए दूधको भाउ Read Next

मापदण्ड विपरीत निजी डेरीले आफूखुसी बढाए दूधको भाउ