घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीहरूले घरजग्गा, गाडी तथा अनुत्पादक क्षेत्रमा लगानी बढाउँदा समस्या आएको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १२ औं वार्षिक साधारणसभामा बोल्दै रजिष्ट्रार पण्डितले सहकारीहरूको पैसा अनुत्पादक क्षेत्रमा गएको र उक्त लगानी फिर्ता नहुँदा अहिलेको समस्या आएको बताए । यस्तो खराब कर्जा लगानी उठाउन सहकारी अभियान समेत नतातेको उनले आरोप लगाए ।

‘सहकारीमा खास समस्याको चुरो पत्ता लागिसकेको छ । हामी आफै त्यसको भुक्तभोगी छौं र पनि समस्या समाधनतर्फ किन लाग्दैनौं ?’ रजिष्ट्रार पण्डितले भने, ‘समस्या सल्टाउन अभियानहरू नै लागि परेको छैन ।’

तरलता अभावका बीच सहकारी संघ/संस्थाहरूले सदस्यहरूको बचत रकम नै फिर्ता गर्न नसकेको सन्दर्भलाई जोड दिँदै रजिष्ट्रार पण्डितले भने, ‘अभियानले नै सदस्यको बचत रकम एक पटकमा ५ प्रतिशत भन्दा बढी फिर्ता नगर्नु भनेपछि झन् समस्या बढ्यो । त्यो समस्या समाधान गर्न विभागले निर्देशन नै जारी गर्नुपर्यो ।’

सोही अवसरमा रजिष्ट्रार पण्डितले केही प्राविधिक तथा बाध्यात्मक परिस्थितिले विभागले सहकारीको वास्तविक तथ्याङक राख्न नसकेको स्वीकार्दै माघपछि वास्तविक तथ्यांक आउने गरी विभागले काम गरिरहेको बताए ।

कार्यक्रममा सहकारी बैंकका अध्यक्ष केबी प्रसाद उप्रेतीले सहकारीमा अहिलेको अवस्था आउनुको कारण राज्य र बैंक वित्ती संस्थाको भएको बताए । राज्यले लिएको नीति र बैंंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरका कारण अहिलेको अवस्था सृजना भएको दाबी गरे ।

कर्णाली सरकारले किन्यो जगदुल्ला हाइड्रोपावरको १२ करोडको सेयर Read Previous

कर्णाली सरकारले किन्यो जगदुल्ला हाइड्रोपावरको १२ करोडको सेयर

धान उत्पादन ४ लाख मेट्रिकटन बढ्यो, खेती हुने जमिन भने वर्षेनी घट्दै Read Next

धान उत्पादन ४ लाख मेट्रिकटन बढ्यो, खेती हुने जमिन भने वर्षेनी घट्दै