दर्जन बीमा कम्पनीलाई चैतभित्रै चुक्ता पूँजी पुर्‍याउन सकस, यी कम्पनी दबाबमा

काठमाडौं । बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई चुक्ता पूँजी कायम गर्न दिएको समय नजिकिँदै गएको छ ।

चैत मसान्तभित्र जीवन र निर्जीवन बीमा कम्पनीले चुक्ता पूँजी कायम गरिसक्नुपर्ने भए पनि एक दर्जन बढी कम्पनीहरू मर्जर प्रक्रियामा जान आनाकानी गरिरहेका छन् । पूँजी वृद्धिको दबाबमा रहेका कम्पनीहरू अस्तित्वको संकटमा छन् ।

बीमा प्राधिकरण (साविक बीमा समिति)ले गत चैतमा जीवन र निर्जीवन बीमा कम्पनीको साढे दुई गुणाले पूँजी बढाएर एक वर्षभित्र कायम गरिसक्न निर्देशन दिएको थियो । तोकिएको पूँजी पुर्याउन ३ महिना मात्र बाँकी छ । जसको कारण मर्जर तथा प्राप्तिको प्रक्रियामा नगएका कम्पनी दबाबमा परेका हुन ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पैडेल बीमा कम्पनीहरूसँग पूँजी वृद्धिका लागि मर्जरको तालिका र समय मागिरहेकको बताउँछन् ।

‘कम्पनीहरू मर्जरमा जानेक्रम जारी छ । प्राधिकरणले पूँजी वृद्धि र मर्जरको तालिका माग गरिरहेका छ,’ उनले भने, ‘चैत मसान्तभित्र कम्पनीहरूले पूँजी पुर्याउनु पर्छ भन्ने हो । त्यसपछि प्राधिकरणले निर्णय गर्छ ।’

कम्पनीले पूँजी वृद्धिका लागि मर्जर तथा प्राप्ति र बोनस सेयर दिन सक्ने तर प्राधिकरणले हकप्रद जारी गर्न नदिने उनले बताए । प्राधिकरणको निर्देशन अनुसार जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमाले २ अर्ब ५० करोड पूँजी पुर्याउनु पर्नेछ । हाल जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ रहेको छ ।

सञ्चालनमा रहेका बीमा कम्पनीहरू मध्ये करिब डेढ दर्जन बढी कम्पनी मर्जरको प्रक्रियामा छन् भने ६ वटाले एकीकृत कारोबार गरिसकेका छन् ।

बीमा कम्पनीको वित्तीय आधार बलियो बनाउन तथा पहुँच बढाउनका लागि संख्या घटाएर पूँजी बढाउने प्राधिकरणले नीति लिएको छ । बीमा ऐनले प्राधिकरणलाई फोर्सफूल मर्जरको अधिकार दिएकाले पूँजी कायम गर्न नसक्ने कम्पनीहरूको हकमा लागू हुन सक्ने प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

त्यसपछि पनि कम्पनीले पूँजी पुर्याउन नसक्ने अवस्था आएमा जोखीममा आधारित व्यवसाय गर्नदिने नीति बनाउने प्राधिकरणको तयारी छ । प्राधिकरणले पूँजी बढाउन दबाब दिए पनि अर्थतन्त्रमा देखिएको संकटका कारण व्यवसाय विस्तारमा सिथिल भएका कम्पनीहरूले तोकिएको समयभित्रै पूँजीको आकार बढाउन सक्ने अवस्था नरहेको बीमकहरू बताउँछन् ।

४ कम्पनीको एकीकृत कारोबार, एक दर्जन प्रक्रियामा

डेढ दर्जन बीमा कम्पनीहरूले तोकिएको चुक्ता पूँजी पुर्याउन मर्जर तथा प्राप्तिको प्रक्रियामा गएका छन् ।निर्जीवनतर्फ एभरेष्ट र हिमालयन इन्स्योरेन्सले गत साउन १ गतेदेखि एभरेष्ट हिमालयनको नामबाट एकीकृत कारोबार गरिसकेका छन् ।

त्यसैगरी, जीवन बीमा तर्फ सूर्यालाइफ र ज्योती लाइफले पुस ७ गतेदेखि सूर्याज्योती लाइफको नामबाट एकीकृत कारोबार सुरु गरिसकेका छन् ।

कतिपय मर्जरमै गएका कम्पनीहरूको पनि तोकिएको पूँजी पुग्ने वस्था छैन भने केही कम्पनीले कुनै प्रक्रिया अघि बढाएका छैनन् । जसको कारण प्राधिकरणले कम्पनीहरूसँग क्यापिटल प्लान र मर्जरको तालिका मागिरहेको छ ।

प्रभु लाइफ महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग मर्जरको प्रक्रियामा रहेको छ भने प्राइम लाइफ, गुराँस र इन्स्योरेन्स लाइफ एकीकृत कारोबारको तयारीमा छन् । यसैगरी, रिलायन्स लाइफ र सानीमा लाइफ मर्जर प्रक्रियामा रहेका छन् ।

निर्जीवन कम्पनीतर्फ प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ, सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स बीच मर्जर सम्झौता भइसकेको छ ।

एक दर्जन कम्पनीलाई सकस

मर्जर प्रक्रियामा नगएका झन्डै १ दर्जन कम्पनीका लागि पूँजी पुर्याउन सकस पर्ने भएको छ । मर्जर तथा प्राप्तिको प्रक्रियामा नगएका एशिएन लाइफ, सिटिजन्स लाइफ, आइएमई लाइफ, एलआइसी नेपाल, राष्ट्रिय बीमा संस्थान, रिलायबल लाइफ र सन नेपाल लगायत कम्पनी दोब्बर बढी पूँजी बढाउनुपर्ने दबाबमा छन् ।

सरकारले केही महिना अघि ल्याएको बीमा ऐन कार्यान्वयनमा आएसँगै तोकिएको समयमै पूँजी पुर्याउन नसक्ने कम्पनीहरूलाई थप संकट परेको छ । बीमा ऐनले प्राधिकरणलाई तोकिएको समय सीमा भित्र पूँजी कायम गर्न नसक्ने कम्पनीको इजाजत अनुमति खारेज गर्न सक्ने अख्तियारी दिएको छ । जसअनुसार प्राधिकरणले कम्पनीको लाइसेन्स नै खारेज गर्न सक्नेछ ।

बीमा विज्ञहरू भने कम्पनीलाई व्यवसायको आकार हेरेर जोखिममा आधारित पूँजी तोक्नुपर्ने बताउँछन् । कतिप कम्पनीहरू अझै मर्जर तथा प्राप्तिमा जाने तयारीमा छन् । मर्जरमा जान दबाब दिएरै भए पनि प्राधिकरण अझै कम्पनीको संख्या घटाउने नीतिमा छ ।

कञ्चनपुर-कमला ४ लेन सडक निर्माण सुस्त, २ वर्षमा २५ प्रतिशत मात्रै काम पूरा Read Previous

कञ्चनपुर-कमला ४ लेन सडक निर्माण सुस्त, २ वर्षमा २५ प्रतिशत मात्रै काम पूरा

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा Read Next

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा