काठमाडौं । साझा यातायातले चीनबाट ल्याएका विद्युतीय बस थन्क्याएरै राख्नुपर्ने अवस्था सृजना भएको छ । बस गुडाउनका लागि आवश्यकता अनुसार चार्जिङ स्टेशन निर्माण हुन नसक्दा ती बस पार्किङ स्टेशनमै थन्क्याएर राख्नुपर्ने भएको हो ।
साझा यातायातले चीनबाट ४० वटाविद्युतीय बस ल्याएको छ । सोमध्ये हाल ३ वटा बस मात्र सञ्चालनमा रहेका छन् । बाँकी ३७ वटा बस साझा यातायातको पुलचोकको पार्किङ स्टेसनमा राखिएको छ ।
साझाले काठमाडौं उपत्यकाभित्र चलाउने गरी ती बस ल्याएको हो । तर, ठाउँठाउँमा चार्जिङ स्टेसन निर्माण गर्न नसक्दा ती बस थन्क्याएरै राख्नुपर्ने अवस्था आएको साझा यातायातले जनाएको छ ।
साझा यातायातका कार्यकारी निर्देशक भूषण तुलाधार चार्जिङ स्टेसन निर्माणका लागि सरकारले जग्गा उपलब्ध नगराउँदा बस संचालनमा ढिलाइ हुने बताउँछन् ।
विद्युत प्राधिकरणले हाल ५० स्थानमा चार्जिङ स्टेसन बनाउन काम सुरु गरेको भए पनि त्यो धेरै जसो उपत्यका बाहिर मात्र रहेको उनले बताए । हाल काठमाडौंमा साझाका ३ स्थानमा प्राधिकरणलेचार्जिङ स्टेसन जडान गरिदिएको छ । तर, त्यो पर्याप्त नभएको तुलाधार बताउँछन् ।
‘हामीलाई जग्गा मात्र उपलब्ध गराए हुन्छ, चार्जर हामीसँगै छ, आवश्यक पर्ने भौतिक पूर्वाधार समेत हामी नै बनाउछौँ भनेका छौँ, तर कसैले चासो देखाएर सहयोग गर्न खोजेका छैनन्,’ कार्यकारी निर्देशक तुलाधारले चाणक्य पोष्टसँग भने ।
उनले हाल साझा यातायातले ३ वटा मात्र बस सञ्चालन गरिरहेको जानकारी दिए । बाँकी बस दर्ता, नम्बर प्लेट लयातको प्रकृयामा रहेको उनले बताए । उनले सरकारले बिजुली बस गुडाउन सहज वातावरण सृजना गर्न नसकेका कारण विद्युतीय बसमा निजी क्षेत्रले चासो देखाउँदा देखाउँदै समेत गुडाउन नसकेको बताए ।
उनले साझा यातायातलाई नै नदिए पनि सार्वजनिक निजी सबै प्रकारका सवारी साधनहरु चार्ज गर्न मिल्ने गरि चार्जिङ स्टेसन राख्न जग्गा दिनुपर्ने बताए । अहिले भएका गाडी गुडाउन सरकारले चक्रपथ बाहिर थानकोट, बुढानिलकण्ठ लगायतका क्षेत्रमा जमिन उपलब्ध गराए पनि साझाले आफै बाँकी पुर्वाधार खडा गर्ने उनको भनाई छ । जहाँ भए पनि जग्गा दियो भने राति खाली गए पनि चार्जिङ गरेर दिन पाए हुन्छ ।
उनले हाल भएका गाडी गुडाउन सफल भए साझाले थप विद्युतीय बस ल्याउने योजना समेत बनाएको बताए । साझाले भने बिजुली बसको चार्जिङ स्टेसनको रूपमा बानेवरमा पुरानो ट्रलीबसको जग्गा भएको स्थान र खुमलटारमा रहेको सहकारी बोर्डको खाली जग्गा उपलब्ध गराउन माग गरेको हो ।
यस्तै, जमिन पाएपछि विद्युत सप्लाइको लागि विद्युत प्राधिकरणसँग छलफल भइरहेको उनले बताए । प्राधिकरणले २०० केभीएसम्मको ट्रान्सफम राखिदिने भए पनि त्यो दीर्र्घकालीन नहुने उनको भनाइ छ ।
दीर्घकालीन रूपमा ठूलो बिजुली बसलाई सञ्चालन गर्न २०० भन्दा केभी केभीको ट्रान्सफर्म राख्नुपर्ने उनले बताए । ‘यो हाम्रो लागि मात्र हैन, सबै यातायातका लागि मिल्ने गरी ठाउँ ठाउँमा चार्जिङ स्टेसन राख्नु पर्छ । अबको भविष्य विद्युतीय सवारी साधन नै हो,’ तुलाधारले भने ‘धेरै ढिला भइसक्यो तर, अझै पनि सरकारले तयारी गरेको छैन । चार्जिङ स्टेसन राख्ने भनेर मात्र भएन जग्गा चाहिन्छ, अहिले छिट्टै त्यो तयारी नगरे पछि जग्गा महंगो हुन्छ ।’
सरकारले हुन्छ मात्र भनेर नहुने भन्दै यस विषयमा चासो नदेखाएको उनको आरोप छ । सरकारले प्रमोट गर्ने हिसाबले गर्ने हो भने विद्युतीय सवारी साधन ल्याउन र गुडाउन दुवै सहज हुने उनले बताए ।
साढे ८ मिटरको २६ सिटे बस आयात गरिएको हो । साझा यातायातले भ्याटसहित ६१ करोड रुपैयाँ लगानीमा ४० वटा विद्युतीय बस ल्याएको हो । एउटा गाडीको मूल्य भ्याट सहित डेढ करोड रुपैयाँ हाराहारी रहेको छ । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दाबढी यात्रु लिइ २०० किमी गुड्न सक्नेछन् ।