चक्रपथमा ७५ बिजुली बस चलाउन विदेशीसहित १३ कम्पनी इच्छुक

काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथमा बिजुली बस संचालन गर्न १३ कम्पनी इच्छुक देखिएका छन् । नेपाल लगानी बोर्डले साढे २७ किलोमिटर लामो चक्रपथमा ७५ वटा बिजुली बस चलाउन सम्भाव्यता अध्ययनका लागि बोलपत्र आह्वान गरेको थियो ।

आवेदन बुझाउने अन्तिम दिन पुस ४ गतेसम्म १३ कम्पनीले आवेदन दिएको लगानी बोर्डले जनाएको छ । बोर्डका सूचना अधिकारी राजु गुरागाईँले चक्रपथमा बिजुली बस संचालनमा लागि स्वदेशी तथा विदेशी कम्पनीले आवेदन दिएका छन् ।

‘पूर्वसम्भाव्यता अध्ययनले आयोजना बनाउन सक्ने देखाएपछि सम्भाव्यता अध्ययनको थप प्रक्रिया अघि बढाएका हौँ,’ उनले चाणक्य पोष्टसँग भने, ‘बिजुली बस संचालनको अध्ययन गर्न १३ कम्पनीको प्रस्ताव आएको छ, सो मध्ये १० वटाले अनलाइन र ३ वटाले बोर्डमा आवेदन दिएका हुन् ।’

आवेदन दिनेमा नेपालीसहित भारत, मलेसिया, चीन लगायत देशका कम्पनीहरु समेत रहेको उनले बताए । ‘विद्युतीय बस संचालनको अध्ययन गर्न विदेशी कम्पनीले पनि चासो देखाएका छन्, आवेदन दिएका कम्पनीहरुको मूल्यांकन गरी एउटा कम्पनीलाई ठेक्का दिइने छ,’ उनले चाणक्य पोष्टसँग भने । आवेदन दिने कम्पनीको नाम भने खुलाउन नमिल्ने उनले बताए ।

बोर्डले विद्युतीय बस चलाउन २० अर्ब लागतमा २७ स्टेसन, एक टर्मिनल र छुट्टै लेन निर्माणका लागि अध्ययन गर्न अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको थियो ।

१३ वटा कम्पनीको मूल्यांकन पछि आरएफपी (रिक्वेष्ट फर प्रपोजल) का लागि फेरि आह्वान गरिने बताए । हाल ईओआई (एक्सप्रेसन अफ इन्ट्रेष्ट) का लागि कन्सलटेन्ट हायर गर्न आह्वान गरिएको थियो । यसको मूल्यांकन अवधि ३५ दिन रहेको छ ।

उनले अन्तिम सम्भाव्यता अध्ययन भएपछि आयोजना कुन मोडलमा निर्माण गर्ने बताउन सकिने बताए । अध्ययनपछि पीपीपी (पब्लिक, प्राइभेट पाटर्नसिप) मोडेलमा आयोजना निर्माण गर्न टेन्डर आह्वान गरिने उनले बताए ।

यसअघि २०१९ मा आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरिसकेको थियो । अन्तिम सम्भाव्यता अध्ययन गर्न कार्तिक अन्तिममा अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान गरिएको थियो ।

पहिलो चरणमा लामो आकारका ७५ वटा बिजुली बस सञ्चालन गर्ने गरी २७ बस स्टेसन र एक टर्मिनल बनाउने योजना रहेको बोर्डले जनाएको छ । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएपछि मात्र के कति निर्माण गर्ने टुंगो लाग्ने उनले बताए ।

२ लाख बढीले सेवा लिन सक्ने

बोर्डले २०१९ मा गरेको पूर्वसम्भाव्यता अनुसार यसमा दैनिक बढीमा २ लाख ४० हजार यात्रुले सेवा लिन सक्नेछन । न्यूनतम भने १ लाख ५४ हजार यात्रु पाइने बोर्डको भनाइ छ । २०२९ सम्म भने दैनिक अधिकतम ३ लाख ८ हजार र न्यूनतम १ लाख ७० हजार यात्रु हुने बोर्डको अनुमान छ ।

उक्त आयोजना बनाउन १५ करोड ३० लाख डलर (करिब २० अर्ब) लागत अनुमान गरिएको छ । आर्थिक वर्ष २०७१/७२ को बजेटमै काठमाडौं उपत्यकाको सार्वजनिक यातायात व्यवस्थित गर्न धेरै यात्रुहरू अट्ने बस र्यापिड ट्रान्जिट (बीआरटी) योजनाको घोषणा गरिएको थियो । त्यसपछि २०७५ मा लगानी बोर्डले यो योजना अगाडि बढाएको थियो । २०१९ मा सम्पन्न लगानी सम्मेलनमा यो आयोजना निर्माण र सञ्चालन गर्न ४ लगानी प्रस्ताव आएका थिए ।

 

सलाम एयरले गर्‍यो १० ट्राभल्स एजेन्टलाई सम्मान Read Previous

सलाम एयरले गर्‍यो १० ट्राभल्स एजेन्टलाई सम्मान

लघुवित्त संस्था विरुद्धको आन्दोलन स्थगन गर्ने सहमति Read Next

लघुवित्त संस्था विरुद्धको आन्दोलन स्थगन गर्ने सहमति