वितरणयोग्य नाफा २.२४ अर्ब भए पनि एनआइसी एशियाले लाभांश नदिनुको यस्तो छ कारण

काठमाडौं । एनआइसी एशिया बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट पनि सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । बैंक संचालक समितिको पुस ५ गते बसेको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट पनि सेयरधनीलाई लाभांश दिएन । बैंकले आव २०७७/७८ को मुनाफाबाट १५.७९ प्रतिशत लाभांश घोषणा गरे पनि तोकिएको पूँजीकोष कायम नगरेको भन्दै नेपाल राष्ट्र बैंकले रोकेको थियो ।

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिनुको कारण नबताए पनि राष्ट्र बैंकले तोकेको मापदण्ड पूरा नगर्दा यसपाली पनि लाभांश बाँड्न नमिल्ने भएको हो ।

एनआइसीले अघिल्लो वर्ष जस्तै गत वर्ष पनि राष्ट्र बैंकले तोकेको प्राथमिक पूँजीकोष अनुपात कायम गर्न सकेको थिएन । बैंकले लाभांश घोषणा गरे पनि राष्ट्र बैंकले अस्वीकृत गर्ने देखिएपछि लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्षको कुनै एक महिना पनि पूँजीकोष अनुपात कायम नगरे सो आवको मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्न नपाउने व्यवस्था छ ।

राष्ट्र बैंकको व्यवस्था अनुसार प्राथमिक पूँजीकोष न्यूनतम ८.५० प्रतिशत हुनुपर्छ । तर, एनआइसी बैंकको गत वर्षको पहिलो त्रैमासमा ७.३० र दोस्रो त्रैमासमा पूँजीकोष ७.८० प्रतिशत मात्रै कायम थियो।

गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार एनआइसी एशियाको वितरण योग्य नाफा २ अर्ब २४ करोड ६४ लाख रुपैयाँ छ । त्यसबाट बैंकले साढे १९ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ ।

साथै, अघिल्लो आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेर वितरण नगरेको लाभांश बैंकले रिटेन्ड अर्निङमा राखेको छ । सो पैसाबाट पनि उसले थप लाभांश बाँड्न सक्थ्यो । तर, बैंकले वित्तीय अनुशासन पालना नगर्दा सेयरधनीको हात लगातार दुई वर्ष रित्तो भएको छ ।

कांग्रेस संसदीय दलको नेतामा देउवा फराकिलो मतान्तरले विजयी Read Previous

कांग्रेस संसदीय दलको नेतामा देउवा फराकिलो मतान्तरले विजयी

क्लासिक टेक पब्लिक कम्पनी बन्दै, आइपीओ जारी गर्ने Read Next

क्लासिक टेक पब्लिक कम्पनी बन्दै, आइपीओ जारी गर्ने