काठमाडौं । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कले फेरि सेयर बेचेका छन् ।
गत अक्टोबरमा ४४ अर्ब डलरमा सामाजिक संजाल ट्वीटर किनेका मस्कले बुधबार आफ्नो स्वामित्वमा रहेको टेस्लाको ३ अर्ब ६० करोड डलर बराबरको सेयर बेचेका हुन् ।
चालु वर्षमै मस्कले टेस्लाको सेयर बेचेको यो चौथो पटक हो । यसअघि उनले अक्टोबरमा ४ अर्ब डलर बराबरको १ करोड ९५ लाख कित्ता सेयर बेचेका थिए ।
त्यस्तै, गत अप्रिलमा उनले टेस्लाको ८ अर्ब ५० करोड डलर र अगस्टमा ७ अर्ब डलर बराबरको सेयर बेचेका थिए । चार पटकमा गरी मस्कले यस वर्ष २३ अर्ब डलरको टेस्लाको सेयर बेचेका हुन् ।
पछिल्लो समय टेस्लाको सेयर मूल्यमा लगातार गिरावट आइरहेको छ । टेस्लो मूल्यमा आएको गिरावट र धमाधम सेयर बेचेपछि मस्क गत साता विश्वकै धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा झरेका थिए । फोर्ब्सका अनुसार उनलाई लुइ विटनका मालिक बर्नार्ड अर्नाल्टले पछाडि परेका थिए।