लगातार दोस्रो महिना बढ्यो डलर संचिति, एक महिनामै ढुकुटीमा थपियो १५ करोड डलर

काठमाडौं । अमेरिकी डलर संचितिमा सुधार आएको छ । चालु आर्थिक वर्ष सुरु भए यता लगातार ओरालो लागेको डलर संचिति असोज यता बढ्दो क्रममा रहेको हो ।

पछिल्लो एक महिनाको अवधिमा राष्ट्रिय ढुकुटीबाट १५ करोड डलर थपिएको । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चौथो महिना (कात्तिक)को तथ्यांक अनुसार असोजको तुलनामा कात्तिकमा डलर संचिति १५ करोडले बढेको हो ।

डलर संचितिमा सुधार आएको यो लगातार दोस्रो महिना हो ।असोजमा राष्ट्रिय ढुकुटीमा १३ करोड डलर थपिएको थियो ।

असोज मसान्तसम्म डलर संचिति ९ अर्ब ४८ करोड रहेकोमा कात्तिक मसान्त आइपुग्दा १५करोडले बढेर ९ अर्ब ६३ करोड पुगेको छ । २०७९ असार मसान्तसम्म राष्ट्रिय ढुकुटीमा ९ अर्ब ५४ करोड डलर संचिति थियो ।

यस्तै, समग्र विदेशी मुद्रा संचितिमा पनि सुधार आएको छ । गत असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७९ कात्तिक मसान्तमा रु.१२४६ अर्ब २७ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा ३.३ प्रतिशतले वृद्धि भई रु.१०९१ अर्ब २२ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा २.७ प्रतिशतले कमी आई रु.१५५ अर्ब ५ करोड कायम भएको छ । २०७९ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत रहेको छ ।

नेप्सेमा दोहोरो अंकको गिरावट, दुई कम्पनीको मूल्यमा भने पाजेटिभ सर्किट Read Previous

नेप्सेमा दोहोरो अंकको गिरावट, दुई कम्पनीको मूल्यमा भने पाजेटिभ सर्किट

अर्थतन्त्रका सूचकमा सुधार आउँदै, मूल्य वृद्धि भने नियन्त्रण बाहिर, यस्तो छ अवस्था Read Next

अर्थतन्त्रका सूचकमा सुधार आउँदै, मूल्य वृद्धि भने नियन्त्रण बाहिर, यस्तो छ अवस्था