अर्थतन्त्रका सूचकमा सुधार आउँदै, मूल्य वृद्धि भने नियन्त्रण बाहिर, यस्तो छ अवस्था

काठमाडौं । गत आर्थिक वर्षदेखि दबाबमा रहेको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । रेमिट्यान्स आप्रवाहमा वृद्धि, विदेशी विनियम संचिति बढ्नु, व्यापार घाटा कम हुनु, शोधनान्तर स्थिति नाफामा जान थालेसँगै अर्थतन्त्रमा सुधारको संकेत देखिएको हो ।

यद्यपि अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्यवृद्धिको ग्राफ भने उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको चार महिनाको अध्ययन प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको छ ।

यस्तै, समीक्षा अवधिमा आयात १८.१ प्रतिशत घट्दा व्यापार घाटा १५.९ प्रतिशतले घटेको छ । यसैगरी, शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा छ भने विदेशी विनिमय सञ्चिति १२४६ अर्ब २७ करोड रुपैयाँ रहेको छ । मुद्रास्फीति भने ८.०८ प्रतिशत पुगेको छ ।

यस्तो छ मुख्य सूचकको अवस्था

२०.४ प्रतिशतले बढ्यो रेमिट्यान्स : चालु वर्षको चार महिनामा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले वृद्धि भई ३७८ अर्ब ४ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.८ प्रतिशतले वृद्धि भई २ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १०२.५ प्रतिशतले वृद्धि भई १,९५,१९६ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.४ प्रतिशतले वृद्धि भई ८७,४२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९.१ प्रतिशतले बढेको थियो ।

चालु खाता र शोधनान्तर स्थितिमा सुधार

यस अवधिमा चालु खाता ३५ अर्ब ४० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २२० अर्ब ९१ करोडले घाटामा रहेको थियो ।

गत वर्ष शोधनान्तर स्थिति १५० अर्ब ३८ करोडले घाटामा रहेको थियो भने समीक्षा अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको छ ।

विनिमय सञ्चितिको दबाब कम

गत वर्षको दोस्रो त्रैमासदेखि आयात वृद्धिले सरकारको टाउको दुखाइरहेको विदेशी विनिमय संचितिमा रेमिट्यानस आप्रवाहले सकारात्मक बनाएको छ ।

२०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई कात्तिक मसान्तमा १२४६ अर्ब २७ करोड पुगेको छ । आर्थिक वर्ष २०७९/८० को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

मूल्यवृद्धि भने नियन्त्रण बाहिर

समीक्षा अवधिमा मूल्य वृद्धि सरकारको नियन्त्रण बाहिर पुगेको छ । राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत पुगेको छ ।अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०४ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फृत ७ प्रतिशतको हाराहारीमा मूल्यवृद्धि कायम राख्ने लक्ष्य लिएको थियो ।कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.६३ प्रतिशत रहेको छ । तर, त्यसअनुसार लक्ष्य पूरा गर्न सकेको देखिँदैन ।

बाह्य दबाबका कारण मूल्यवृद्धिको प्रभाव सबै वस्तुमा परेको छ । केही समय अघि राष्ट्र बैंकले गरेको अध्ययन प्रतिवेदनले १२ प्रतिशतसम्म मूल्यवृद्धि पुग्न सक्ने प्रक्षेपण गरेको थियो ।

 

लगातार दोस्रो महिना बढ्यो डलर संचिति, एक महिनामै ढुकुटीमा थपियो १५ करोड डलर Read Previous

लगातार दोस्रो महिना बढ्यो डलर संचिति, एक महिनामै ढुकुटीमा थपियो १५ करोड डलर

३३०० मिटर अग्लो डाँडा छिचोलेर मुगु-हुम्ला जोड्ने सडक निर्माण सम्पन्न Read Next

३३०० मिटर अग्लो डाँडा छिचोलेर मुगु-हुम्ला जोड्ने सडक निर्माण सम्पन्न