दशैँमा भेडा र खसी बेचेर २० लाख आम्दानी

म्याग्दी । दशैँका अवसरमा भेडा र खसी बिक्री गरेर म्याग्दीका एक किसानले एकै महिनामा २० लाख रुपैयाँ बढी आम्दानी गरेका छन्।

 

म्याग्दीको ऋखार क्षेत्रमा भेडापालन गरेका धवलागिरि गाउँपालिका–५ मल्कबाङका देवान (हिमबहादुर) छन्त्यालले १०० को हाराहारीमा भेडा र खसी बिक्री गरेका हुन्। व्यापारीले गोठमै पुगेर भेडा र खसी खरीद गरेको भेडापालक कृषक छन्त्यालले बताए।

 

धवलागिरि हिमालको फेदी नजिक ऋखार क्षेत्रमा रहेको गोठबाट एकैपटक २० लाख रुपैयाँ बढीका भेडा र खसी बिक्री भएपछि आफू उत्साहित बनेको उनले बताए। दशैँका अवसरमा भेडा र खसीको व्यापार गर्नका लागि मल्कबाङ, कुइनेमङ्गलले, चिमखोलालगायतका ठाउँबाट व्यवसायी गोठमै पुगेका उनले जानकारी दिए।

 

गण्डकी प्रदेशमा रहेका ठूला भेडा फार्ममध्येमा पर्ने छन्त्यालको फार्ममा अझै ४०० बढी भेडा छन्। तिहारलाई लक्षित गरी १०० को सङ्ख्यामा भेडा र खसी बिक्री गर्ने तयारी गरेको उनको भनाइ छ। वैदेशिक रोजगारीका क्रममा मलेसियाबाट फर्किएर उनले ६० लाख रुपैयाँ लगानीमा भेडापालन सुरु गरेका थिए।

 

अहिले कुईनेमङ्गलेको नयाँ वनमा रहेको भेडी गोठलाई मल्कबाङको मयाले हुँदै सिङ्कोस बगर लैजाने तयारी गरिएको उनले जानकारी दिए। हिउँदमा बेंसी झर्ने भेडीगोठ अहिले लेकमा छन्। छन्त्यालको भेडीगोठमा अहिले दुई जना गोठाला छन्। भेडीगोठको सुरक्षामा गोठालासँगै ‘भोटे कुकुर’ पनि राखिएका छन्। रासस

सिटिजन्स लाइफको ७५ करोडको आइपीओ ल्याउने प्रस्ताव पारित Read Previous

सिटिजन्स लाइफको ७५ करोडको आइपीओ ल्याउने प्रस्ताव पारित

चिनियाँ अर्थतन्त्र तीन दशक यताकै सुस्त, विश्व अर्थतन्त्रमा नै दूरगामी असर पार्ने Read Next

चिनियाँ अर्थतन्त्र तीन दशक यताकै सुस्त, विश्व अर्थतन्त्रमा नै दूरगामी असर पार्ने