तेस्रो त्रैमासमा चिनियाँ अर्थतन्त्र सोचेभन्दा पनि सुस्त बृद्धि भएको छ । अमेरिकासँगको व्यापार युद्ध, घटेको आन्तरिक माग र स्वाइन ज्वरोका कारण चिनियाँ अर्थतन्त्र सुस्ताएको विज्ञहरुले बताएका छन् ।
तेस्रो त्रैमासमा चिनियाँ अर्थतन्त्र ६.१ प्रतिशतले बृद्धि हुने अनुमान गरिएको थियो, जुन ६ प्रतिशतमा थामियो । सरकारले कर कटौती लगायत विभिन्न उपायहरु लगाउँदा पनि अर्थतन्त्रले गति लिन सकेको छैन ।
प्राप्त तथ्याङ्कहरुका अनुसार चिनियाँ अर्थतन्त्र विगत ३ दशक यताकै सुस्त अवस्थामा आइपुगेको छ । विश्वले नै चिनियाँ अर्थतन्त्रलाई नजिकबाट नियालीरहेको छ । विश्व अर्थतन्त्रमै दूरगामी असर पार्न सक्ने भएको कारण चिनियाँ अर्थतन्त्रले सबैको ध्यान खिचेको हो ।
विगत लामो समय देखि विश्व अर्थतन्त्रको ‘ग्रोथ इन्जिन’को रुपमा चिनियाँ अर्थतन्त्र रहेको छ । मेसिनरीका अलावा विभिन्न उत्पादनहरुका लागि उसको स्वस्थ मागले विश्वकै आर्थिक बृद्धिका लागि टेवा पुर्याइरहेको थियो ।

केही अर्थशास्त्रीहरु चिनियाँ अर्थतन्त्रको सुस्तताले धरमराएको विश्व अर्थतन्त्र थप कमजोर भएर मन्दीको जोखिम आउने हो की भनेर चिन्तित देखिएका छन् ।
विभिन्न अर्थशास्त्रीहरुले चिनियाँ अर्थतन्त्रको समस्या भविष्यमा थप सघन हुनसक्ने अनुमान गरेका छन् । उनीहरुले नीति निर्माताहरुको थप हस्तक्षेपको अपेक्षा राखेका छन् । र, त्यस पछि पनि चिनियाँ अर्थतन्त्रले गति लिन समय लाग्ने अनुमान गरेका छन् ।
चीन हाल अमेरिकासँगको व्यापार युद्धको चपेटामा परेको छ । यसले व्यवसायहरु र उपभोक्ताहरुको आत्मविश्वासलाई क्षिण पारेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।साथै, स्वाइन ज्वरोले पनि चीनलाई मुद्रास्फिति बढाएर र आन्तरिक माग घटाएर थप चुनौती पेश गरेको छ ।
यसै हप्ता अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि सन् २०१९ मा चिनियाँ अर्थतन्त्र ६.१ प्रतिशतले बृद्धि हुने प्रक्षेपण गरेको छ । उसले ६.२ बाट घटाएर ६.१ प्रतिशतको प्रक्षेपण गरेको हो ।यद्यपी ‘फेज वान डिल’ पश्चात् अमेरिकासँगको व्यापार युद्धमा केही सुधारको संकेतहरु देखा परेका छन् ।
चिनियाँ सरकारले कर घटाएर र अर्थतन्त्रमा थप तरलता पठाउने उपायहरुको खोजी गरेर अर्थतन्त्र उकास्ने प्रयास पनि गरिरहेको छ । तर, केही विज्ञहरुका अनुसार चीन बढ्दो ऋणका कारण तत्काल ‘स्टिमुलस प्याकेज’को घोषणा गर्न भने अनिच्छुक देखिएको छ ।
एजेन्सीको सहयोगमा