भैरहवा भन्सारबाट पास भएको भारतीय ट्रक प्रहरी नियन्त्रणमा

भैरहवा । भैरहवा भन्सार कार्यालयले पास गरेको वस्तु रुपन्देही प्रहरीले रोकेको छ । मङ्सिर १८ मा भैरहवा भन्सार कार्यालयले ‘जिप्सम ग्रयानुअल्स’ भन्दै पास गरेको वस्तु प्रहरीले पहिचान नभएको भन्दै नियन्त्रणमा लिएको हो ।

रुपन्देही प्रहरीले भैरहवा बसपार्क नजिकै जाँचका क्रममा शङ्का आधारमा भन्सारबाट पास भएर आएको भारतीय नम्बर प्लेटको ट्रक ‘यूपी ५६ टी २७८५’लाई रोकेको थियो ।

ट्रकमा कुनै पनि प्रकारको लेवल नरहेको ५०० सेतो बोरामा पहिचान नभएको वस्तु (डीएपी मल जस्तै देखिने) वस्तु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी बेद पौडेलले जानकारी दिए । ट्रकमा‘भूमि शक्ति’ लेखेको ४५० थान खाली नयाँ बोरा पनि बरामद भएको उनको भनाइ छ ।

मल अभाव भइरहेको अवस्थामा भैरहवा तथा यसआसपासमा भारतीय बोरामा नक्कली मल विक्रीवितरण भइरहेको रुपन्देही प्रहरीलाई उजुरी आएको थियो ।

‘कमसल खालकोमल विक्रेताले उच्च मूल्य लिइ विक्री गर्दै आएको सूचना आएको थियो,’ पौडेलले भने, ‘बरामद भएको समान शङ्कास्पद मल जस्तै देखिएको छ ।’ उनले बरामद भएको वस्तुको नमूना कृषि ज्ञानकेन्द्र भैरहवाको सहयोगमा प्रदेशस्तरीय कृषि प्रयोगशालामा पठाइएको जानकारी दिए । ‘हामी अहिले यसबारे अनुसन्धानकै क्रममा छौँ,’ उनले भने, ‘प्रयोगशालाबाट आएको प्रतिवेदनका आधारमा प्रक्रिया अघि बढ्छ ।’

केही नलेखिएका सेतो रङ्गका बोरा र त्यसभित्र भेटिएको खैरो र कालो रङ्गको पहिचान नभएको वस्तु रहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । ‘जिप्सम ग्रयानुअल्स’ भनेको मल हो भने कृषि मन्त्रालयले सोको आयात गर्न स्वीकृति दिएको वा नदिएको खुल्न सकेको छैन,’ उनले भने, ‘आयातकर्ताले कहिले घर बनाउने जिप्सन बोर्डको कच्चा पदार्थ त कहिले रासायनिक मल भनेपछि बरामद गरिएको हो ।’

प्रज्ञापन नम्बर एम ११५७८९ बाट भन्सार पास भएको उक्त वस्तु भारत नौतनवाको श्रीवास्तव ट्रान्सपोर्टले पठाएको हो । नेपालमा ओम गङ्गा ट्रेडर्स एण्ड सप्लायर्स बेलहियामार्फत आयात भएको समानको क्लियरिङ सञ्जय क्लियरिङ एजेन्टबाट भएको छ ।

प्रतिबोरा रु १५० मूल्याङ्कन गरी भैरहवा भन्सार कार्यालयले पाँच प्रतिशत भन्सार शुल्क र मूल्य अभिवृद्धि करसहित रु २५ हजार ५३८ राजस्व असुल गरेको छ ।

भैरहवा भन्सार कार्यालयले उक्त वस्तु ‘जिप्सम ग्रयानुअल्स’ भन्दै ग्रीन च्यानलबाट जाँचपास गरेको छ । भन्सारमा ग्रीन च्यानल, एल्लो च्यानल र रेड च्यानलबाट समान जाँचपास हुन्छ । ग्रीन च्यानलको अर्थ आयात गरिने सामान र त्यससँग सम्बन्धित कागजात पनि हेर्न आवश्यक नरहेको भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत लक्ष्मण ढुङ्गानाले बताए।

‘ग्राहकको स्वघोषणाका आधारमा राजस्व लिइन्छ,’ ढुङ्गानाले भने, ‘यस्तो अवस्थामा ट्रकमा के सामग्री छ ? र लेबल छ वा छैन भन्नेबारे जाँच गर्नुपर्दैन ।’ भन्सारबाट पास भएको सामानलाई प्रहरीले रोक्ने अधिकार नरहेको भन्सार अधिकृत ढुङ्गानाको दाबी छ । उनले प्रहरीले रोके पनि त्यसलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान वा भन्सार कार्यालयमा बुझाउनुपर्ने प्रावधान रहे पनि प्रहरी आफैँ अनुसन्धान गरेको जिकिर गरे । रासस

माया खोला हाइड्रोपावरको आइपीओ खुल्यो, क-कसले भर्न पाउँछन् ? Read Previous

माया खोला हाइड्रोपावरको आइपीओ खुल्यो, क-कसले भर्न पाउँछन् ?

सरकारले मूल्य तोक्यो तर किनेन किसानको धान, सस्तोमा निजी कम्पनीलाई बेच्न बाध्य Read Next

सरकारले मूल्य तोक्यो तर किनेन किसानको धान, सस्तोमा निजी कम्पनीलाई बेच्न बाध्य