सरकारले मूल्य तोक्यो तर किनेन किसानको धान, सस्तोमा निजी कम्पनीलाई बेच्न बाध्य

काठमाडौं । सरकारले समर्थन मूल्य तोके पनि कृषकले उत्पादन गरेको धान किन्न भने आनाकानी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कृषको धान किन्नु पर्ने भए पनि बजेट नभएको बाहानामा अझै खरिद सुरू नगरेको हो ।

कृषकहरूले धान बाली भित्र्याइ सके पनि खाद्य कम्पनीले अहिलेसम्म खरिद प्रक्रिया अघि बढाएको छैन । अनेक दुःख र हैरानी बेहोर्दै उत्पादन गरेको धान सरकारले नकिनेपछि कृषक मारमा पर्न थालेका छन् ।

खाद्य कम्पनीले धान नकिनेपछि कृषकहरू बाध्य भएर समर्थन मूल्यभन्दा कममा निजी कम्पनीलाई बेच्न बाध्य भएका छन् । उत्पादिन धान राख्ने ठाउँको अभाव, साहुको ऋण र ब्याज तिर्नका लागि पैसोको जोहो गर्न सस्तोमै धान बेच्न बाध्य भएको कृषकहरू बताउँछन् ।

सरकारी कम्पनीले धान नकिनेपछि बाध्य भएर सस्तोमा निजी कम्पनीलाई बेच्नुपरेको राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेम दंगालले बताए । खाद्य कम्पनीले समयमै धान खरिदको काम सुरू नगर्दा किसानहरू मर्कामा परेको उनले बताए ।

सरकारले यो वर्ष मोटो धानको प्रतिक्वीन्टल २ हजार ९६७ रुपैयाँ र मध्यम धानको मूल्य ३ हजार १२८ रुपैयाँ समर्थन मूल्य निर्धारण गरेको छ । तर, खाद्य कम्पनीले अहिलेसम्म धान नकिन्दा किसानले बाध्य भएर निजी क्षेत्रलाई प्रतिक्वीन्टल १ हजार ५०० देखि २ हजार ५०० रुपैयाँमै बेचिरहेको उनले जानकारी दिए ।

‘मंसिर बित्न लाग्दा समेत खाद्य कम्पनीले अझै धान किन्ने प्रक्रिया अघि बढाएको छैन । सरकार आफैले समर्थन मूल्य तोकेको छ, तर अझै धान किन्न सुरू गरेको छैन, उनले भने, ‘राख्ने ठाउँ नहुँदा बिग्रिने डरले किसानले बाध्य भएर सस्तोमा धान बेच्नु परिरहेको छ ।’

सरकारले कृषकलाई जहिल्यै दुःख र हैरानी मात्र दिने गरेको उनले बताए । ‘सरकारले न खेती गर्ने बेला मल, बीउ दिन सक्छ । न किसानले उब्जाएको धान बेलैमै किनिदिन्छ,’ उनले भने, ‘आफै यतिमा किन्छु भनेर मूल्य तोक्ने । तर, किन्ने बेलामा अनेक बाहाना बनाउने । यो सरकारको किसानलाई दुःख दिने नीतिमात्र हो ।’

किसानको धान किन्ने सरकारी निकाय खाद्य कम्पनीले अर्थ मन्त्रालयबाट बजेट नआएकाले धान खरिद ढिलाइ भएको जनाएको छ । धान खरिदका लागि २७ करोड रुपैयाँ माग गरिए पनि मन्त्रालयले विनियोजन नगर्दा कृषकको धान किन्न नसकेको बताएको छ ।

कृषकले निर्धारण गरिएको मूल्यभन्दा कममा विक्री गर्नु परे सरकारको तर्फबाट किसानलाई शोधभर्ना दिने व्यवस्था रहेको छ । गत वर्ष धानको शोधभर्ना ६४ करोड रुपैयाँ निकासा गर्न नसकेको कारण संस्थानले धान खरिद प्रकृया अघि नबढाएको जनाएको छ ।

गत आर्थिक वर्षमा सरकारी निकायले १० हजार टन हाराहारी धान खरिद गरेको थियो । देशभर ५२ देखि ५५ लाख मेट्रिकटन धान उत्पादन हुनेगरेको छ । किसानले उत्पादनको २० प्रतिशत हाराहारी धान बजारमा ल्याउने गरेका छन् । सरकारसँग १० लाख मेट्रिकटन धान खरिद गर्न अवस्था समेत नभएको दंगालले भने ।

‘सरकारले चाहे १० लाख टन धान किनेर राख्न सक्छ, तर सरकार यति निकम्मा भयो कि भएको ठाउँ खण्ड हुन दिन्छ तर, धान किन्न पैसा दिँदैन,’ दंगालले भने ।

धान भण्डारण अभावका कारण समेत खाद्य संस्थानले धेरै धान नकिन्ने गरेको छ । सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा धानको समर्थन मूल्य निर्धारण गरी खरिद गर्ने, यदी किसानले समर्थन मूल्यभन्दा कममूल्यमा विक्री गर्नु परेमा त्यस्तो फरक मूल्य समेत शोधभर्ना दिने व्यवस्था गरेको छ । उनले सरकारले किसान झुकाउन फगतमा नीति बनाएको आरोप लगाए ।

 

भैरहवा भन्सारबाट पास भएको भारतीय ट्रक प्रहरी नियन्त्रणमा Read Previous

भैरहवा भन्सारबाट पास भएको भारतीय ट्रक प्रहरी नियन्त्रणमा

मेलम्चीको पानी आजदेखि राजधानीमा वितरण गरिँदै Read Next

मेलम्चीको पानी आजदेखि राजधानीमा वितरण गरिँदै