पुस भित्र ३० हजार टन मल ल्याइने

काठमाडौं । सरकारले पुस भित्र ३० हजार टन रासायनिक मल ल्याउने तयारी गरेको छ । भारतबाट जीटुजी प्रक्रियामार्फत ३० हजार टन मल ल्याउन लागिएको हो ।

भारतबाट ल्याउन लागिएको उक्त मल हाल बोरामा प्याकिङ्ग भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार संजेलले पुसभित्रै ३० हजार टन मल ल्याउन अहिले भारतमा प्याकिङ भइरहेको बताए ।

‘मल प्याकिङ भइरहेको छ, पुषको पहिलो साता भित्र आयात भइसक्ने छ, त्यसपछि बाँकी मल माघ(फागुनमा आयात हुनेछ,’ संजेलले भने ।

चालु आर्थिक वर्षमा सरकारले २ लाख ५७ हजार मेट्रिकटन रासायनिक मल खरिदको लागि टेण्डर आह्वान गरेको थियो । सो मध्ये हाल १ लाख १० हजार मेट्रिकटन मल आयात भइसकेको छ । आयातित मल मध्ये ८६ हजार मेट्रिकटन मल विक्री वितरण भइसकेको उनले जानकारी दिए ।

कति मल मौज्दात?

हाल कृषि सामग्रीसँग यूरिया मल १५ हजार ९७९ टन रहेको छ भने डीएपी मल १८ हजार ४३२ टन रहेको छ । साथै पोटास मल ९ हजार ८३७ टन रहेको कृषि सामग्री कम्पनीले जनाएको छ । हाल कृषि सामग्री कम्पनीसँग ३५ हनार ४४९ मेट्रिकटन मल मौज्दात रहेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनसँग यूरीया मल ६ हजार ५८४ टन, डीएपी मल ८५४ टन र पोटास मल ९५ टन गरी ७ हजार ५३४ मेट्रिक टन मल मौज्दात रहेको छ ।

चालु आर्थिक वर्षका लागि मल आयात गर्न १६ अर्ब रुपैयाँ बजेट सुनिश्चितता गरिएको छ । कृषि सामग्री कम्पनीले १ लाख टन मलका लागि ग्लोबल टेण्डर गरेको छ । सो मध्ये ७० हजार टन मल आयात भएको थियो । थप ३० हजार टन मल आयातको क्रममै रहेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले ५७ हजार ५ सय टन मलको ग्लोबल टेण्डर आवहान गरेको थियो । सो मध्ये ३० हजार टन मल आयातको क्रममा रहेको छ ।

आयातका क्रममा रहेको सो मलहरु माघ/फागुन भित्र आयात हुने प्रवक्ता संजेलले बताए । उनले कृषि सामग्रीको २० हजार टन र साल्ट ट्रेडिङको १० हजार टन मल मंसिर भित्रै आइपुग्ने बताए । हाल कृषि सामग्रीको २० हजार टन मध्य ५ हजार टन मल भैरहवा नाकामा आइसकेको उनले जानकारी दिए । १० हजार मेट्रिकटन मल भने विशाखा पटनाबाट नेपालका लागि निकासी भइसकेको उनले बताए ।

मल अभावलाई समाधान गर्दै नेपाल सरकार र भारत सरकार बीचको जिटुजि सम्झौता भएको छ । सम्झौताअनुसार पहिलो वर्ष १ लाख ५० हजार, दोस्रो वर्ष १ लाख ७० हजार, तेस्रो वर्ष १ लाख ९५ हजार, चौथो र पाँचौं वर्षमा २ लाख १० हजार मेट्रिक टन मल नेपालले भारतसँग खरिद गर्न पाउने उल्लेख छ ।

गाडी आयात खुलाए पनि व्यवसायी आन्दोलनमै, नगद मार्जिन हटाउन राष्ट्र बैंकलाई दबाब Read Previous

गाडी आयात खुलाए पनि व्यवसायी आन्दोलनमै, नगद मार्जिन हटाउन राष्ट्र बैंकलाई दबाब

भगवती हाइड्रोपावरले प्रिमियममा आइपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन Read Next

भगवती हाइड्रोपावरले प्रिमियममा आइपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन