काठमाडौं । नेपालको कुल ग्राहस्थ उत्पादन र रोजगारीको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको साना तथा मझौला उद्योगहरुले आफ्नो व्यवसायको शुरुवात र प्रर्बद्धन गर्नका लागि वित्तीय साधन तथा उत्पादनहरुको खासै उपभोग गर्न नपाएको राष्ट्र बैंकले गरेको एक अध्ययनले देखाएको छ ।
अध्ययनका अनुसार नेपालमा साना तथा मझौला व्यवसायले कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशत योगदान पुर्याउनुका साथै करिब १७ लाख रोजगारी सृजना गरेको छ ।
तर, नेपालको साना तथा मझौला व्यवसायको फाइनान्सिङको अवस्था हेर्दा २०७६ असार मसान्तमा कृषि, ऊर्जा र पर्यटन क्षेत्रबाहेकका साना तथा मझौला उद्योगमा बैंक तथा वित्तीय संस्थाहरुको कुल वक्यौता कर्जाको ३.२६ प्रतिशत कर्जा प्रवाह भएको छ ।
साना तथा मझैला उद्योगहरुको भूमिका सबै अर्थतन्त्रमा महत्वपूर्ण हुन्छ । उनीहरुले रोजगारी सिर्जना, कुल गार्हस्थ्य उत्पादन र निर्यात प्रवद्र्घनमा उल्लेख्य योगदान पुर्याउने गरेका छन् ।
उदीयमान मुलुकहरुमा साना तथा मझौला उद्योगहरुले कुल रोजगारीमा ६० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ४० प्रतिशतसम्म योगदान पुर्याएको पाइन्छ ।
एसिया प्रशान्त क्षेत्रमा कुल व्यवसायको ९६ प्रतिशत साना तथा मझौला उद्योग रहेको र यिनीहरुले कुल जनशक्तिको ६२ प्रतिशतलाई रोजगारी दिएको पाइएको छ । एसियाली विकास बैंकका अनुसार भारत र चीनमा साना तथा मझौला उद्योगहरुले निर्यातको ४० प्रतिशत हिस्सा ओगटेका छन् ।
उद्यमीहरुले बैंकिङ क्षेत्रबाट कर्जा प्राप्त गर्न घरजग्गा धितोको आवश्यकता र प्रक्रियागत झन्झटलाई प्रमुख समस्या मानेका छन् । यसैगरी संस्थागत क्षमताको विकास हुन नसकेको र कर्जा दुरुपयोगको सम्भावना समेत रहेका कारण साना तथा मझौला व्यवसायहरुमा पर्याप्त कर्जा प्रवाह हुन नसकेको बैंकहरुको बुझाई छ ।
नेपालमा औद्योगिक व्यवसाय ऐन, २०७३ ले स्थिर पूँजीका आधारमा साना र मझौला उद्योगको परिभाषा गरेको छ । आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्म २,७५,४३३ साना तथा मझौला उद्योगहरु दर्ता भएका छन् ।
अर्थतन्त्रमा ठूलो योगदान पुर्याए पनि नेपालमा साना तथा मझौला उद्योग शुरु गर्नका लागि भने वित्तीय स्रोत जुटाउन धेरै अप्ठ्यारो स्थिती रहेको अध्ययनले देखाएको छ ।
अध्ययनले नेपालमा अधिकांश साना तथा मझौला व्यवसायले वित्तीय साधन बैंकिङ क्षेत्र बाहेकका स्रोतबाट जुटाएको देखाएको छ । अध्ययनमा समावेश भएका साना तथा मझौला उद्योगहरुले औसतमा ३३ प्रतिशत पैतृक सम्पत्तिको स्रोतबाट, २६ प्रतिशत आफ्नै बचतबाट, १६ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट र बाँकी अन्य स्रोतहरुबाट स्थापनाकालीन वित्तीय साधन परिचालन गरेको जनाएको छ ।
सञ्चालनमा आइसकेपछि भने उनीहरुले बैंक तथा वित्तीय साधनहरुको उपभोग गर्न पाएको अध्ययनले देखाएको छ । सञ्चालनमा रहेका मध्ये करिब ५० प्रतिशत साना तथा मझौला व्यवसायले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको र तीमध्ये पनि ८५ प्रतिशतले वाणिज्य बैंकबाट नै वित्तीय साधन प्राप्त गर्ने गरेको तथ्य फेला परेको छ ।
उद्यमीहरुले बैंकिङ क्षेत्रबाट कर्जा प्राप्त गर्न घरजग्गा धितोको आवश्यकता र प्रक्रियागत झन्झटलाई प्रमुख समस्या मानेका छन् । यसैगरी संस्थागत क्षमताको विकास हुन नसकेको र कर्जा दुरुपयोगको सम्भावना समेत रहेका कारण साना तथा मझौला व्यवसायहरुमा पर्याप्त कर्जा प्रवाह हुन नसकेको बैंकहरुको बुझाई छ ।
नेपालमा साना तथा मझौला व्यवसायको फाइनान्सिङको लागि पर्याप्त मात्रामा भेञ्चर क्यापिटल/प्राइभेट इक्विटी कम्पनीहरुको पनि विकास हुन सकेको छैन । नेपालमा केही भेञ्चर क्यापिटल/प्राइभेट इक्विटी कम्पनीहरु सञ्चालनमा रहेको छन् । यस्ता कम्पनीहरुलाई प्रवद्र्घन गर्न नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ जारी भएको छ । पूँजी बजारतर्फ भने साना तथा मझौला उद्योगहरुको लागि छुट्टै धितोपत्र बजारको व्यवस्था छैन ।
हाल नेपालमा सक्रिय १३ हजार ५ सय ७८ बचत तथा ऋण सहकारी सहित ३४ हजार ५ सय १२ सहकारी संघ/संस्थाहरुले (सहकारी विभाग, २०७५) साना तथा मझौला उद्योगहको फाइनान्सिङमा टेवा पुर्याइरहेको अध्ययनले जनाएको छ ।