१७ लाखलाई रोजगारी दिएका साना तथा मझौला उद्योगलाई वित्तीय स्रोत जुटाउनै कठिन

काठमाडौं । नेपालको कुल ग्राहस्थ उत्पादन र रोजगारीको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको साना तथा मझौला उद्योगहरुले आफ्नो व्यवसायको शुरुवात र प्रर्बद्धन गर्नका लागि वित्तीय साधन तथा उत्पादनहरुको खासै उपभोग गर्न नपाएको राष्ट्र बैंकले गरेको एक अध्ययनले देखाएको छ ।

 

अध्ययनका अनुसार नेपालमा साना तथा मझौला व्यवसायले कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशत योगदान पुर्‍याउनुका साथै करिब १७ लाख रोजगारी सृजना गरेको छ ।

 

तर, नेपालको साना तथा मझौला व्यवसायको फाइनान्सिङको अवस्था हेर्दा २०७६ असार मसान्तमा कृषि, ऊर्जा र पर्यटन क्षेत्रबाहेकका साना तथा मझौला उद्योगमा बैंक तथा वित्तीय संस्थाहरुको कुल वक्यौता कर्जाको ३.२६ प्रतिशत कर्जा प्रवाह भएको छ ।

 

साना तथा मझैला उद्योगहरुको भूमिका सबै अर्थतन्त्रमा महत्वपूर्ण हुन्छ । उनीहरुले रोजगारी सिर्जना, कुल गार्हस्थ्य उत्पादन र निर्यात प्रवद्र्घनमा उल्लेख्य योगदान पुर्‍याउने गरेका छन् ।

 

उदीयमान मुलुकहरुमा साना तथा मझौला उद्योगहरुले कुल रोजगारीमा ६० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ४० प्रतिशतसम्म योगदान पुर्‍याएको पाइन्छ ।

 

एसिया प्रशान्त क्षेत्रमा कुल व्यवसायको ९६ प्रतिशत साना तथा मझौला उद्योग रहेको र यिनीहरुले कुल जनशक्तिको ६२ प्रतिशतलाई रोजगारी दिएको पाइएको छ । एसियाली विकास बैंकका अनुसार भारत र चीनमा साना तथा मझौला उद्योगहरुले निर्यातको ४० प्रतिशत हिस्सा ओगटेका छन् ।

 

उद्यमीहरुले बैंकिङ क्षेत्रबाट कर्जा प्राप्त गर्न घरजग्गा धितोको आवश्यकता र प्रक्रियागत झन्झटलाई प्रमुख समस्या मानेका छन् । यसैगरी संस्थागत क्षमताको विकास हुन नसकेको र कर्जा दुरुपयोगको सम्भावना समेत रहेका कारण साना तथा मझौला व्यवसायहरुमा पर्याप्त कर्जा प्रवाह हुन नसकेको बैंकहरुको बुझाई छ ।

 

नेपालमा औद्योगिक व्यवसाय ऐन, २०७३ ले स्थिर पूँजीका आधारमा साना र मझौला उद्योगको परिभाषा गरेको छ । आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्म २,७५,४३३ साना तथा मझौला उद्योगहरु दर्ता भएका छन् ।

 

अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याए पनि नेपालमा साना तथा मझौला उद्योग शुरु गर्नका लागि भने वित्तीय स्रोत जुटाउन धेरै अप्ठ्यारो स्थिती रहेको अध्ययनले देखाएको छ ।

 

अध्ययनले नेपालमा अधिकांश साना तथा मझौला व्यवसायले वित्तीय साधन बैंकिङ क्षेत्र बाहेकका स्रोतबाट जुटाएको देखाएको छ । अध्ययनमा समावेश भएका साना तथा मझौला उद्योगहरुले औसतमा ३३ प्रतिशत पैतृक सम्पत्तिको स्रोतबाट, २६ प्रतिशत आफ्नै बचतबाट, १६ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट र बाँकी अन्य स्रोतहरुबाट स्थापनाकालीन वित्तीय साधन परिचालन गरेको जनाएको छ ।

 

सञ्चालनमा आइसकेपछि भने उनीहरुले बैंक तथा वित्तीय साधनहरुको उपभोग गर्न पाएको अध्ययनले देखाएको छ । सञ्चालनमा रहेका मध्ये करिब ५० प्रतिशत साना तथा मझौला व्यवसायले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको र तीमध्ये पनि ८५ प्रतिशतले वाणिज्य बैंकबाट नै वित्तीय साधन प्राप्त गर्ने गरेको तथ्य फेला परेको छ ।

 

उद्यमीहरुले बैंकिङ क्षेत्रबाट कर्जा प्राप्त गर्न घरजग्गा धितोको आवश्यकता र प्रक्रियागत झन्झटलाई प्रमुख समस्या मानेका छन् । यसैगरी संस्थागत क्षमताको विकास हुन नसकेको र कर्जा दुरुपयोगको सम्भावना समेत रहेका कारण साना तथा मझौला व्यवसायहरुमा पर्याप्त कर्जा प्रवाह हुन नसकेको बैंकहरुको बुझाई छ ।

 

नेपालमा साना तथा मझौला व्यवसायको फाइनान्सिङको लागि पर्याप्त मात्रामा भेञ्चर क्यापिटल/प्राइभेट इक्विटी कम्पनीहरुको पनि विकास हुन सकेको छैन । नेपालमा केही भेञ्चर क्यापिटल/प्राइभेट इक्विटी कम्पनीहरु सञ्चालनमा रहेको छन् । यस्ता कम्पनीहरुलाई प्रवद्र्घन गर्न नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ जारी भएको छ । पूँजी बजारतर्फ भने साना तथा मझौला उद्योगहरुको लागि छुट्टै धितोपत्र बजारको व्यवस्था छैन ।

 

हाल नेपालमा सक्रिय १३ हजार ५ सय ७८ बचत तथा ऋण सहकारी सहित ३४ हजार ५ सय १२ सहकारी संघ/संस्थाहरुले (सहकारी विभाग, २०७५) साना तथा मझौला उद्योगहको फाइनान्सिङमा टेवा पुर्‍याइरहेको अध्ययनले जनाएको छ ।

मार्जिन कारोबारको लागि ३३ कम्पनी मात्र योग्य (सूचीसहित) Read Previous

मार्जिन कारोबारको लागि ३३ कम्पनी मात्र योग्य (सूचीसहित)

सिटिजन्स लाइफको ७५ करोडको आइपीओ ल्याउने प्रस्ताव पारित Read Next

सिटिजन्स लाइफको ७५ करोडको आइपीओ ल्याउने प्रस्ताव पारित