काठमाडौं । देशकै अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले डाटा र भ्वाइसमा विशेष अफर ल्याएको छ।टेलिकमले यसअघि उपलब्ध गराएको समर अफरअन्तर्गतका प्याकेजमा केही थप सुविधासहित शरद ऋतु (अटम) अफर ल्याएको छ। यो अफर बिहीबारदेखि लागू भएको टेलिकमले जनाएको छ ।
पहिले उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटीटीएच कम्बो प्याकलाई परिमार्जन गरिएको छ।डे डाटा प्याक अन्तर्गत अब १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ८० एमबी डाटा चलाउन सकिने छ।
डे भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी १०० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने छ ।एफटीटीएच कम्बो प्याकअन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भए पनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य भने घटाइएको छ ।
पहिलेको १ हजार २ सयको प्याकलाई १ हजार, ३ हजार ४ सयको प्याकलाई ३ हजार, ६ हजार ४ सयको प्याकलाई ५ हजार ५ सय र १२ हजार ३ सयको प्याकलाई अब १० हजार ५ सय रुपैयाँ मात्र पर्ने भएको छ।
साथै समर अफरकारुपमा उपलब्ध एक घण्टा अनलिमिटेड प्याक, अल टाइम डाटा प्याक, १ जीबी पर डे डाटा प्याक, नाइट डाटा प्याक, अनलिमिटेड नाइट डाटा प्याक, सोसल मिडिया प्याक, डाटा स्ट्रिमिङ प्याक, अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट भ्वाइस प्याक, पोष्टपेड प्याक, एसएमएस प्याक, सीयूजी प्याक, एफटीटीएच प्याकेज, विद्यार्थी अफर, चाइना कल अफर, इन्डिया कल अफर, एडीएसएल भोलुम बेस्ड प्याकेज, एडीएसएल अनलिमिटेड प्याकेज र मिस्ड कल अलर्ट सुविधालाई निरन्तरता दिइएको छ ।
त्यसैगरी, फोरजीरएलटीई अफरको रुपमा हाल दिइरहेका विभिन्न सुविधाहरुलाई पनि निरन्तरता दिइएको टेलिकमले बताएको छ।