काठमाडौं । सिभिल बैंकले डिजिटल सुदूरपश्चिम अभियान सुरू गरेको छ । बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर सुदूरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रम गरी उक्त अभियानको थालनी गरेको हो ।
धनगढीमा आयोजित डिजिटल सुदूरपश्चिम नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा निलम ढुंगाना तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रममा वरिष्ठ डेपुटी गभर्नर ढुंगाना तिम्सिनाद्वारा पानी पूरीदेखि जुत्ता मर्मतसम्म, टेम्पो, मन्दिरको भेटीसम्मका कारोबारहरू डिजिटल रूपमा क्यूआर कोडमार्फत भुक्तानी गरी डिजिटल सुदूरपश्चिमको उद्घाटन गरिन् ।
उनले नेपाल राष्ट्र बैंककै उच्च प्राथमिकतामा रहेको डिजिटल पेमेन्टलाई डिजिटल सुदूरपश्चिममा सुरूवात गर्न पाउँदा आफू खुसी भएको र समग्र राष्ट्रमै यो अभियान चलाउन सकिएमा देशमा हुने गरेका सबै कारोबारहरू पारदर्शी हुने तथा नोट छाप्नका लागी विदेशिने धन राशिको संचय हुने बताइन् ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले डिजिटल इको सिस्टमको विकास गर्न सकिएमा समग्र सुदूरपश्चिम डिजिटलमा जाने कुरामा दुई मत नरहेको बताए ।
सिभिल बैंकले २०१९ अगस्ट देखिनै सुरू गरेको नगद रहित अभियान अहिले देशको दुर्गमभन्दा दूर्गम स्थानदेखि देशका प्रमुख सहरहरूमासम्म गरी ४० हजारभन्दा बढी क्यू आर मर्चेन्टहरूलाई आबद्ध गरिसकेको बैंकले जनाएको छ ।