निजी क्षेत्र माग्दै, राष्ट्र बैंक टार्दै

काठमाडौं । निजी क्षेत्र र वित्तीय क्षेत्रको नियामक निकाय राष्ट्र बैंक बीच सधैं तिक्ततापूर्ण सम्बन्ध रहने गरेको देखिन्छ । दुवैले एक आपसमा सहकार्य, समन्वय गरेर अर्थतन्त्र र वित्तीय क्षेत्रका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने भए पनि त्यस्तो हुन सकेको देखिँदैन ।

निजी क्षेत्रले राष्ट्र बैंकले कहिल्यै आफ्ना मागहरू सम्बोधन नगर्ने, अनावश्यक हस्तक्षेप गर्ने, अदूरदर्शी र हचुवा नीति ल्याएर व्यवसायीलाई अफ्ठेरोमा पार्ने गरेको लगायत आरोप लगाउँदै आएका छन् । यता, राष्ट्र बैंकले पनि निजी क्षेत्रले अर्थतन्त्र र वित्त क्षेत्रको अवस्थाभन्दा पनि सधैं आफ्नो नाफा मात्रै हेर्ने गरेको आरोप लगाउँदै आएको छ ।

‘राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको समीक्षाले पनि अर्थतन्त्रको बहुआयामिक क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकेन । अहिले सरकार, सर्वसाधारण र निजी क्षेत्र सबै नकारात्मक रूपमा प्रभावित भएका छौं । यो अर्थतन्त्रमा निराशाको अवस्था हो अझै पनि हामी सचेत भएनौ भने अर्थतन्त्र दुर्घटनामा पर्नेछ,’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भनेको भनाइ हो यो । यसबाट पनि प्रष्ट बुझिन्छ निजी क्षेत्रले राष्ट्र बैंकलाई बुझ्ने र हेर्ने नजर कस्तो छ भन्ने ।

पछिल्लो समय देशभरका उद्योगी ब्याजदर बढाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । चुनावको मुखमा केही दिन स्थगित भएको आन्दोलनलाई फेरि निरन्तरता दिने व्यवसायीहरुले बताएका छन् । ब्याजदर वृद्धिको विरुद्ध सडकमा उत्रिएका उद्योगी, व्यवसायी अहिले ‘अर्थतन्त्र जोगाऔं’ भन्दै सरकार र नेपाल राष्ट्र बैंकसँग नीतिगत कदमको माग गरिरहेका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत पुरानै व्यवस्थाहरूलाई निरन्तरता दिएपछि नियामक र निजी क्षेत्र बीचको ब्याजदर र नीतिगत मुद्दामा रस्साकसी कायमै छ । गत महिना सडक आन्दोलनमा आएका व्यवसायीहरूले आफ्ना मागहरू छलफलबाटै समाधान नभए थप कार्यक्रमहरू चाल्न बाध्य हुने बताइरहेका छन् ।

ब्याजदर, चालु पूँजी कर्जा, नगद मार्जिन लगायतका व्यवस्थाहरूमा राष्ट्र बैंकले पुनरावलोकन गर्ने निजी क्षेत्रको अपेक्षा थियो । तर, आफ्ना मागहरू सम्बोधन नभए पनि व्यवसायीहरूले फेरि नियामकसँग मागहरू सम्बोधनका लागि सुझावहरू दिने भएका छन् ।

राष्ट्र बैंकले आइतबार मौद्रिक नीतिको समीक्षा मार्फत कर्जा र निक्षेपको ब्याजदर अन्तर(स्प्रीड दर) घटाएको छ भने चालु पूँजी कर्जा निर्देशिका कार्यान्वयनलाई निरन्तरता दिएको छ । जसको कारण असन्तुष्ट व्यवसायीहरू राष्ट्र बैंक र सरकार समक्ष सोही मुद्दा लिएर पुनः लबिङ गरिरहेका छन् ।

‘माग्दै’ निजी क्षेत्र, टार्दै राष्ट्र बैंक

गत भदौमा बैंकहरूले निक्षेपको ब्याजदर बढाएपछि व्यवसायीहरूले देशैभरी आन्दोलन चर्काए । लगत्तै कात्तिक पहिलो साता महासंघका पदाधिकारीहरू विभिन्न माग राखेर राष्ट्र बैंक पुगे ।

त्यसपछि राष्ट्र बैंकले ती मागहरू सम्बोधन गर्ने उनीहरूको अपेक्षा थियो । तर, सोही महिनादेखि चालु पूँजी कर्जा निर्देशिका नियामकले कार्यान्वयनमा ल्याएको छ । राष्ट्र बैंकले गत वर्षदेखि १३ सय वस्तु आयातमा ५० देखि सतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था लागू गरिएको थियो ।

यस नीतिले हालसम्म निरन्तरता पाएको छ । विदेशी विनिमय संचितिमा दबाब आएपछि आयात कडाइ गरेपनि व्यवसायीहरूले सोही अवधिदेखि हटाउन माग गरिरहेका थिए । मौद्रिक समीक्षामा पनि आयात खुकुलो बनाउने माग सम्बोधन नभएपछि सरकारले आफ्नै नीतिका कारण राजस्व गुमाइरहेको व्यवसायीहरूले बताएका छन् ।

एक वर्षदेखि सरकारले आयात प्रतिबन्ध लगाएपनि अटोमोबाइल बाहेकका सामानहरू अवैधरूपमा आयात भइरहेको निजी क्षेत्रको दाबी छ । ‘वाह्य क्षेत्र सन्तुलन मिलाउनका लागि ब्याजदर बढाउनुका साथै अप्रत्यक्ष एवं प्रत्यक्ष आयात नियन्त्रण गरिएको छ आयात रोकिंदा अटोमोबाइल बाहेक अन्य सामान भन्सार छलेर आइरहेकै छ,’ महासंघका अध्यक्ष गोल्छाले भने ।

राष्ट्र बैंकका अधिकारीहरू भने मौद्रिक नीतिमा गरिएको व्यवस्थाले अर्थतन्त्रको बाह्य चाप कम हुँदै गएको र आगामी दिनहरूमा विद्यमान परिस्थिति हेरेर नितिगत पुर्नविचार गरिने बताउँछन् ।

राष्ट्र बैंक लागू गरेका नीतिहरूबाट पछि हट्ने सम्भावना नरहेको राष्ट्र बैंकका एक अधिकारीले बताए । ‘विद्यमान वित्तीय संस्था र जोखीमको अवस्थालाई हेरेर चालु पूँजी कर्जा निर्देशिका कार्यान्वयनमा ल्याइएको हो, यसबाट राष्ट्र बैंक पछि हट्दैन्,’ उनले भने, ‘ ब्याजदर र तरलतामा मौद्कि समीक्षाले लचकता अपनाएको छ । अर्थतन्त्रमा बाह्य क्षेत्रको जोखिम कायमै छ । अहिलेको अवस्थामा विश्वका अन्य केन्द्रीय बैंकले लिएको नीति पनि कठोर नै हो ।’

निजी क्षेत्रले उठाएका विषयमा राष्ट्र बैंक मौन छ भने व्यवसायीहरू फेरि सोही मागहरू पेस गरिरहेका छन् । निजी क्षेत्रको लगानी संकुचित, राजस्व घटेर अर्थतन्त्रमा चाप परिरहेको अवस्थामा मार्गदर्शनले व्यवसायमा जटिलता थपेको उद्योगीहरूको बुझाइ छ । महासंघले यस निर्देशिकालाई दुई वर्षसम्म लागु नगर्न, तरलता व्यवस्थापनका उपाय अपनाउन र बैंकको आधार दर घटाएर ब्याजदरमा स्थायित्व कायम गर्न राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

उत्पादन र मागमा गम्भीर असर

बाह्य क्षेत्रको दबाब कम गर्न राष्ट्र बैंकले अपनाएका उपकरहरू पछि अर्थतन्त्रमा अर्को समस्या देखिएको छ । माग र उत्पादनमा भएको संकुचनले राजस्वदेखि आर्थिक वृद्धिमा समेत समस्या देखाएको छ ।

वित्तीय प्रणालीमा भएको तरलता अभावले बैंकको ब्याजदर १८ प्र्रतिशसम्म पुगेको छ भने अन्तर्राष्ट्रिय रूपमा इन्धनको मूल्यवृद्धिले उद्योग, वयवसायको लागत बढ्दा पूर्ण रूपमा सञ्चाल हुन सकेका छैनन् ।

हाल निर्माण क्षेत्र अन्तर्गत सिमेन्ट, फलामे छड लगायतका उद्योगहरू औसत ३० प्रतिशतमा चलिरहेको महासंघको दाबी छ । उपभोग्य सामानहरूको विक्री १८ प्रतिशत घटेको, विद्युतीय उपकरणको कारोबारमा ५५ प्रतिशत संकुचन, अटोमोबाइल ७५ प्रतिशतले कारोबार र सेवा क्षेत्रमा सबैभन्दा बढी प्रभाव देखिएको व्यवसायीहरूको भनाइ छ ।

बीमा व्यवसाय ३०, पर्यटन घटेको, अकुपेन्सी ३० देखि ४० प्रतिशतमा सीमित, रेष्टुरेन्टमा ग्राहक संख्या करिब २० प्रतिशत हाराहारी घटेको, घर जग्गा कारोबार ४८ प्रतिशत र पूंजी बजारमा करिब ४० प्रतिशतको गिरावट आएको निजी क्षेत्रको आकलन छ ।

सरकारले चालु आवमा १८ प्रतिशतले राजस्व संकलन वृद्धि गर्ने लक्ष्य लिएको थियो । तर, त्योभन्दा बढी घटेको अर्थमन्त्रालयको तथ्यांकले देखाउँछ ।

 

नेप्सेमा झिनो गिरावट, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Previous

नेप्सेमा झिनो गिरावट, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

आदर्श लघुवित्तको सेयर कारोबार फुकुवा Read Next

आदर्श लघुवित्तको सेयर कारोबार फुकुवा