१५ वर्षपछि भरिँदै भैरहवा सेज, २४ उद्योगसँग सम्झौताको तयारी

काठमाडौं ।देशमा निर्यात व्यापार बढाउने, रोजगारी सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गर्ने उद्देश्य सहित पाइलट परियोजनको रूपमा सुरू गरिएको भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योगहरूको आकर्षण बढ्न थालेको छ ।

स्थापना भएको झन्डै १५ वर्षसम्म सेजमा आउन खासै इच्छुक नदेखिएका उद्योगहरू पछिल्लो समय आउन इच्छुक देखिएका हुन् । भैरहवा सेजले उद्योग स्थापनका लागि गरेको आह्वनमा मागभन्दा बढी आवेदन परेको छ।

भैरहवा सेजमा ६७ वटा प्लट रहेको छ । सोमध्ये २१ वटा प्लटमा हाल ७ उद्योग सञ्चालन भइरहेका छन् भने ४६ प्लट खाली छ । भैरहवा सेजका सबइन्जिनीयर सागर सिलवालले सेजमा उद्योग सञ्चालनका लागि प्रस्ताव आह्वान गरिएकोमा मागभन्दा बढी प्लटका लागि प्रस्ताव आएको बताए । अहिले खाली ४६ वटा प्लटका लागि आवेदन माग गरिएकोमा ५५ वटाले आवेदन दिएको उनले बताए ।

छनोट भएका मध्ये सबै उद्योग सञ्चालनमा नआउने भएकाले सम्झौता पछि कति उद्योग सञ्चालनमा आउने छन् फेरि सेजले प्रकाशन गर्नेछ । भैरहवा सेज रुपन्देहीको रोहिणी गाउँपलिका–१, बगहामा ५२ बिघा क्षेत्रफलमा फैलिएको छ ।

सरकारले १५ माघ २०६० मा विशेष आर्थिक क्षेत्र आयोजना स्थापना गर्ने निर्णय गरेको थियो । विशेष आर्थिक क्षेत्र ऐन २०७३ अनुसार १८ असोज २०७३ मा प्राधिकरण स्थापना भएको थियो ।

२४ उद्योगसँग सम्झौताकाे तयारी

भैरहवा सेजमा तत्कालै थप २४ वटा उद्योगहरूले आउन इच्छा देखाएको सिलवालले जानकारी दिए । उक्त कम्पनीहरूसँग एक साता भित्र सम्झौता गरिने उनले बताए ।

‘कम्पनीहरू छनोटका क्रममा रहेका छन्, अहिले २४ वटा कम्पनी रहेका छन्, सम्झौताका लागि आउन आह्वान गरेका छौँ,’ सिलवलले चाणक्य पोष्टसँग भने ‘एक हप्तामा कोको आएर सम्झौता गर्छन् उनीहरूले सेजमा आफै उद्योग निर्माण गरेर सञ्चालन गर्नेछन् ।’

सेजमा आउन इच्छुक २४ उद्योगहरू ४ अर्ब ४१ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आउने तयारी गरेका हुन् ।

कुन कुन उद्योग आउँदैछन् ?

सेजमा उद्योग स्थापनका लागि २४ वटा उद्योगले आवेदन दिएका छन् । जसमा प्लाष्टिकजन्य, खाद्यान्न, मार्बल लगायत क्षेत्रका उद्योगहरू रहेका छन् ।

बीएचपी मेनुफ्याक्चरीङले ३८ करोड रुपैयाँ लगानीमा स्टीलका भाँडा तथा सामग्री उद्योग खोल्न आवेदन गरेको छ । सूर्य हाउसले १२ करोड रुपैयाँ लगानीमा गलैंचा उत्पादन गर्ने उद्योग सेजमा राख्न प्रस्ताव गरेको छ ।

सुब्हा भनभोरी इन्डस्ट्रीले २२ करोड रुपैयाँ लगानीमा खाद्य सामग्री उत्पादन, प्रशोधन तथा प्याकिङ्ग गर्ने उद्योग खोल्न प्रस्ताव गरेको छ। त्यसैगरी, भानभोरी प्रड्क्टसले १२ करोड रुपैयाँ लगानीमा डिस्पोजेवल प्रोडक्ट उत्पादन गर्ने उद्योगका लागि प्रस्ताव गरेको छ ।

भिस्टार ग्लोबलले २१ करोड रुपैयाँ लगानीमास्टेनलेस स्टीलका भाँडा, अरिहान्ता एग्रो प्रोगेसिङले ९४ करोड रुपैयाँ लगानीमा माउथ फ्रेशनर उत्पादन उद्योग, नेपाल स्टोन एण्ड मार्बल उद्योगले ४५ करोड रुपैयाँ लगानीमा ढुंगाको ब्लक, मूर्ति निर्माण गर्ने उद्योग स्थापना गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, कृषिकलाले ३० करोड रुपैयाँ, त्रिपति प्लाष्टिकले ५ करोड, मेटल रिसाइक्लिङ उद्योगले १० करोड, एचएन एग्रो प्रोसेसिङ यूनीटले १४ करोड, लेदर प्रोसेसिङ इन्डष्ट्रिले २ करोड, वाइट माउन्टेन माइनिङ इन्डष्ट्रिले २२ करोड, सिल्भर शक्ति प्रिन्ट एण्ड प्याक इन्डष्ट्रिले १२ करोड, इन्डक्सन कुकिङ स्टभ मेनुफ्याक्चरले ३ करोड लगानीमा उद्योग सञ्चालनका लागि प्रस्ताव गरेको छ ।

यस्तै, बबई एग्रो ट्रेड कन्सर्नले ११ करोड, अरुण खोला बहुउदेश्य उद्योगले ४४ करोड, लार्के हिमाल जडिबुटी उद्योगले ९ करोड, एजी केमिकल्सले १५ करोड, फनिचर एण्ड गामेन्ट इन्डष्ट्रिले १२ करोड, पशुपति प्लाष्टिक उद्योग ४ करोड, हबेन्द्र देवको १४ करोड, रजत सरवाङगीले ९ करोड र नम्रता अग्रवालले विद्युतीय प्यानल उद्योग सञ्चालनका लागि ५ करोड रुपैयाँ लगानीमा उद्योग खोल्न प्रस्ताव गरेका छन् ।

सेजभित्र सञ्चालनमा आउने उद्योगले उत्पादनको ६० प्रतिशत विदेश निकासी गर्नुपर्ने प्रावधान छ । उद्योगको प्रकृति हेरेर कतिपय उद्योगले एक वर्षदेखि दुई वर्षभित्र विदेश निकासी गर्ने सम्झौता गरेका छन् । हाल सेजमा स्थापना भइसकेका ७ उद्योगले वार्षिक ५० करोड रुपियाँ बराबरको निकासी गरेका छन् । सेज पूर्ण क्षमतामा सञ्चालनमा आएपछि वार्षिक १२ अर्ब रुपैयाँको निकासी हुने अनुमान गरिएको छ ।

 

नेप्सेमा झिनो अंकको सुधार, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Previous

नेप्सेमा झिनो अंकको सुधार, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

नेप्सेमा सानिमा लाइफको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा सानिमा लाइफको बोनस सेयर सूचीकृत