अमेरिकी प्रतिबन्धको बाबजूद हुवावेको आम्दानी २४ प्रतिशतले वृद्धि

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेमाथि अमेरिकी सरकारको तर्फबाट प्रतिबन्ध लागाएपनि हुवावेको आम्दानीमा अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ।

 

अमेरिकी सरकारको चौतर्फी दबाबका कारण संकटबाट गुज्रिरहेको हुवावेको आम्दानी ९ महिनाको अवधिमा वृद्धि भएर करिब ८६ अर्ब डलर पुगेको छ। कम्पनीले आफ्नो नाफामा पनि ८.७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

 

सुरक्षाको कारण देखाउँदै अमेरिकी प्रशासनले हुवावेका टेलिकम उपकरण प्रयोग नगर्न यस वर्ष विश्वव्यापी पहल र प्रचार गरेको थियो। गत मे महिनामा हुवावेलाई अमेरिकी बजारमा कालोसूचीमा राख्नुका साथै अमेरिकी कम्पनीका उच्च प्रविधियुक्त सामान हुवावेलाई बिक्री नगर्न दबाब दिएको थियो।

 

संयुक्त राज्य अमेरिकाले हुवावेका सामान मार्फत चीनले गोप्य सूचनाहरु संकलन गर्न सक्ने भन्दै गम्भीर चासो र चिन्ता व्यक्त गरेको थियो। अमेरिकाले हुवावेका उत्पादनमा व्यापक कमी कमजोरी रहेका र ती भरोसा योग्य नरहेको बताउँदै आएको छ। तर हुवावेले भने अमेरिकी दाबीको निरन्तर खण्डन गरिरहेको छ।

 

चीनको विशाल प्रविधि कम्पनीले जारी गरेको पछिल्लो विज्ञप्तिमा भनिएको छ, हुवावेले केबल सूचना प्रविधिको पूर्वाधार र स्मार्ट उपकरण निर्माणमा ध्यानकेन्द्रित गरेको छ, र त्यसलाई अझ गुणस्तरीय एवं परिस्कृत गर्नेतर्फ विशेष जोड दिइरहेको छ।

 

यिनै कारणले कम्पनीले सन् २०१९ को ९ महिनाको अवधिमा निकै उचाई प्राप्त गरेको छ र निरन्तर विश्वको विश्वास जित्दै गएको छ। चिनियाँ स्मार्टफोन हुवावे विश्वमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनको सूचीमा छ।रासस

३४ लाख नेपालीको लागि खाद्य सहयोग आवश्यक Read Previous

३४ लाख नेपालीको लागि खाद्य सहयोग आवश्यक

अब पूँजीगत लाभकर गणना गर्न ब्रोकरमा जानु नपर्ने Read Next

अब पूँजीगत लाभकर गणना गर्न ब्रोकरमा जानु नपर्ने