काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफामा भारी गिरावट आएको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ६३.८० प्रतिशतले घटेको हो ।
चालु आवको असोज मसान्तसम्म फरवार्डले ३ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ५ करोड ३६ लाख कम हो । माइक्रोफाइनान्सले गत वर्षको पहिलो त्रैमासमा ८ करोड ३९ लाख खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र संचालन नाफा घटेसँगै माइक्रोफाइनान्सको खुद नाफामा उच्च गिरावट आएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४.२० प्रतिशतले घटेर २० करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, संचालन नाफा १३६.८२ प्रतिशतले घटेर ४ करोड ८५ लाख ऋणात्मक भएको छ ।
समीक्षा अवधिमा लघुवित्तले ८ अर्ब २१ करोड निक्षेप संकलन र १० अर्ब ६ करोड सापटी लिई कुल १९ अर्ब ८७ करोड ऋण लगानी गरेको छ । हाल ८४ करोड ४४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ८९ करोड रुपैयाँ संचित छ ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि ठूलो गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १४.३१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३२४.०७ रुपैयाँ र खराब कर्जा २.६० प्रतिशत छ ।