काठमाडौं । अमेरिकी डलर संचितिमा सुधार आएको छ । चालु आर्थिक वर्ष सुरु भए यता लगातार ओरालो लागेको डलर संचिति असोज महिनामा भने बढेको हो ।
पछिल्लो एक महिनाको अवधिमा राष्ट्रिय ढुकुटीबाट १३ करोड डलर थपिएको । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो महिना (असोज)को तथ्यांक अनुसार भदौको तुलनामा असोजमा डलर संचिति १३ करोडले बढेको हो ।
भदौमा मसान्तसम्म डलर संचिति ९ अर्ब ३५ करोड रहेकोमा असोज आइपुग्दा १३ करोडले बढेर ९ अर्ब ४८ करोड पुगेको छ । २०७९ असार मसान्तसम्म राष्ट्रिय ढुकुटीमा ९ अर्ब ५४ करोड डलर संचिति थियो ।
यस्तै, विदेशी मुद्रा संचितिमा पनि सुधार आएको छ । २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७९ असोज मसान्तमा रु.१२४६ अर्ब २२ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ असोज मसान्तमा ४.३ प्रतिशतले वृद्धि भई रु.११०१ अर्ब ६० करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ असोज मसान्तमा ९.३ प्रतिशतले कमी आई रु.१४४ अर्ब ६२ करोड रहेको छ । २०७९ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको छ ।