काठमाडौं । वाणिज्य बैंकहरूले मंसिरका लागि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । मंगलबार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले मंसिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको हो ।
संघका अनुसार मंसिरका लागि कात्तिककै ब्याजदर यथावत राखिने भएको छ । अहिले बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा १०.१३३ प्रतिशत र साधरण बचतमा कम्तीमा ७.१३३ प्रतिशत ब्याज दिँदै आएका छन् । मंसिरमा पनि यही ब्याजदर कायम हुने संघले जनाएको छ ।
पछिल्लो समय लगानी योग्य रकम भए पनि ब्याजदर महँगो भएपछि कर्जाको माग शून्यप्रायः छ । अर्कातिर, उद्योगी व्यवसायी ब्याजदर घटाउन माग गर्दै देशव्यापी आन्दोलनमा छन् । त्यसैलाई मध्येनजर गर्दै बैंकहरूले मंसिरमा ब्याजदर नबढाउने निर्णय गरेका हुन् ।
गत चैतदेखि स्थिर रहेको बैंकको ब्याजदर ६ महिनापछि असोजमा बढेको थियो ।