स्वच्छ ऊर्जा विस्तारमा नेपालको अगुवाइ, वार्षिक ९ अर्ब डलर कमाउन सक्ने

काठमाडौं । केही वर्षअघिसाँ ऊर्जा सङ्कटकालको सामना गरिरहेको नेपाल अहिले विद्युत् ऊर्जामा आन्तरिक माग धान्न सक्ने मात्र नभई वर्षायाममा निर्यात गर्ने अवस्थामा पुगेको छ ।

नेपालले प्रदूषित ऊर्जा स्रोतहरुबाट स्वच्छ विद्युत् ऊर्जातर्फ छिटाभन्दा छिटो रुपान्तरणको दिशामा बढेको छ । यसले हरित गृह ग्यासको उत्सर्जन कम गर्नुका साथै आर्थिक जोखिमतालाई घटाउन पनि मद्दत पुग्दछ ।

नेपालको ९८ प्रतिशत विद्युत् उत्पादन जलविद्युत् र नवीकरणीय ऊर्जाका स्रोतहरुबाट हुने गर्दछ । यस्ता स्वच्छ ऊर्जाका स्रोतहरुबाट अहिले २२०० मेगावाट विद्युत् आपूर्ति भइरहेको छ भने ५ हजार मेगावाट निर्माणाधीन रहेका छन् ।

त्यसैले देश विद्युत्बाट खाना पकाउन, विद्युतीय सवारी, औद्योगिक तथा व्यापारिक क्षेत्रमा आपूर्ति गर्ने सम्भावना रहेको छ भने कृषि क्षेत्रमा तताउन, चिस्याउन र पानी तान्न सकिन्छ । यसले गर्दा नेपालको ऊर्जासँग सम्बन्धित क्षेत्रबाट हुने कार्बनडाइअक्साइडको उत्सर्जनलाई २०३० सम्म ८.६ मिलियन मेट्रिक टन र २०४५ सम्म ३५०० मिलियन मेट्रिक टन न्यूनीकरण गर्न सकिन्छ ।

यसबाहेक स्वच्छ ऊर्जा उत्पादनको उल्लेखनीय उपयोगबाट नेपालले दक्षिण एसियामै हरित गृह ग्यास उत्सर्जन कम गरी घरायसी उत्सर्जनलाई घटाउन सक्ने देखिन्छ । यसका लागि नेपालले सुक्खायाममा स्वच्छ ऊर्जाको व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसो भएमा ४५ गिगावाट जलविद्युत् र ९ गिगावाट सौर्य ऊर्जाबाट प्रतिवर्ष ९ अर्ब अमेरिकी डलर बराबरको राजस्व आम्दानी हुन सक्छ ।

यस्तो व्यापारले प्रतिवर्ष सय मिलियन टनभन्दा बढी कार्बनडाइअक्साइड उत्सर्जन घटाउन सकिन्छ । यसले कोइला बालेर र प्राकृतिक ग्यासका उत्पादन केन्द्रहरुबाट उत्पादन हुने उत्सर्जनलाई प्रतिस्थापन गर्न योगदान पुग्दछ ।

नेपालले परम्परागत बायोमास र आयातीत इन्धनबाट स्वच्छ ऊर्जा स्रोतका रुपमा रुपान्तरण हुने हो भने नेट निरो उत्सर्जनको लक्ष्य हासिल गर्न यससम्बन्धी दीर्घकालीन रणनीति बनाउनुपर्ने विज्ञहरुको सुझाव छ । ऊर्जा क्षेत्रले नेपालको कूल उत्सर्जनको झन्डै ५४ प्रतिशत हिस्सा ओगट्ने कार्बनडाइअक्साइडको उत्सर्जनमा ठूलो योगदान दिन सक्ने देखिन्छ ।

हरितगृह अत्यन्त न्यून मात्र उत्सर्जन गर्ने नेपालले जलविद्युत् तथा नवीकरणीय ऊर्जाको उपयोग गरी देशभित्र ऊर्जाको माग पूरा गर्न र छिमेकी मुलुकहरूमा समेत निर्यात गरी त्यहाँको कोइला र प्राकृतिक ग्यासको खपत घटाई हरित गृह ग्यासको उत्सर्जनलाई न्यूनीकरण गराउन सहयोग गर्न सक्ने बारेमा यो दिवसमार्फत जानकारी गराउने अवसर प्राप्त हुने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा मधुसूदन अधिकारीले बताए ।

जलविद्युत्ले नेपालको विद्युत् प्रणालीमा महत्वपूर्ण भूमिका खेलेको छ । यद्यपि, नेपालमा जलविद्युत् उत्पादनमा विविधता रहनु एउटा मुख्य चुनौतीको विषय रहेको छ । वर्षायाममा विद्युत् उत्पादन बढी हुने गर्दछ भने हिउँदको सुख्खायाममा आवश्यक विद्युत् उत्पादन हुन नसक्दा भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको छ ।

नेपालको विद्युत् उत्पादन क्रमशः बढ्दै गएको छ, जसले बढ्दो विद्युत्को मागलाई धान्न सक्ने देखिन्छ । साथै, बढी भएको विद्युत् निर्यात गर्न सक्ने अवस्थामा रहे पनि यससम्बन्धी थप नीतिको खाँचो रहेकोे छ ।

नेपालले यस्ता चुनौती र अवसरहरुलाई आत्मसात् गर्दै ऊर्जा सम्मिश्रणबाट विद्युत् उत्पादनको कर्भलाई बिस्तारै बढाउँदै लैजान सकिन्छ । विद्युत्को बढ्दो मागलाई पूरा गरी अन्तरदेशीय ऊर्जा व्यापारलाई कार्यान्वयनमा ल्याउन सकिन्छ । नेपालले यहाँ रहेको सौर्य ऊर्जाको अपार सम्भावनालाई पनि उपयोग गरी सुख्खायाममा जब नदीहरुमा पानीको बहाव घट्दै जान्छ, त्यतिबेला जलविद्युत्को परिपूरकका रुपमा विद्युत् उत्पादन गर्न सकिन्छ ।

जबकि नेपालमा सौर्य ऊर्जाको सम्भावना उच्च रहेको छ । यस अतिरिक्त विद्युत्को अभाव भएका क्षेत्रहरुमा ऊर्जा भण्डारण प्रणालीमार्फत विदुत् आपूर्ति गर्न सकिन्छ, जसले ग्रामीण क्षेत्रमा स्तरीय ऊर्जा वितरणलाई बढाउन मद्दत पुग्दछ र अतिरिक्त प्रसारण पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकतालाई कम गर्न सकिन्छ ।

मंसिरमा बैंककाे ब्याजदर नबढ्ने Read Previous

मंसिरमा बैंककाे ब्याजदर नबढ्ने

एकदिन पनि टिकेन नेप्सेको हरियाली, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Next

एकदिन पनि टिकेन नेप्सेको हरियाली, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी