काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले खुद नाफामा छलाङ मारेको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २३९८.२२ प्रतिशतले बढेको हो ।
कम्पनीले चालु आवको असोज मसान्तसम्म १७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा झन्डै २५ गुणा बढी हो । गत वर्षको सोही अवधिमा नेपाल लाइफले जम्मा ७० लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद बीमा शुल्क, लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी बढ्नुका साथै नोक्सानी व्यवस्थापन गर्नुपर्ने रकम घटेपछि नाफामा छलाङ आएको हो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १.९७ प्रतिशतले बढेर ९ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी ३९.०९ प्रतिशत बढेर ८३ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।
यस्तै, गत वर्ष नोक्सानी व्यवस्थापनका लागि १८ करोड ८ लाख रुपैयाँ छुट्याएको कम्पनीले चालु आवमा १ करोड ७१ लाख रुपैयाँ मात्र छुट्याएको छ ।
हाल ८ अर्ब २० करोड चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा १ अर्ब ९९ करोड रुपैयाँ संचित छ । यस्तै, जीवन बीमा कोषमा १ खर्ब ४२ अर्ब र महाविपत्ती कोषमा ८३ करोड १० लाख रुपैयाँ सञ्चित छ।
खुद नाफामा छलाङ मारेसँगै कम्पनीको प्रतिसेयर आम्दानी झन्डै २२ गुणाले बढेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ०.३९ रुपैयाँबाट बढेर ८.५६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, प्रतिसेयर नेटवर्थ पनि १३४.३९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६७.९७ गुणा रहेको छ ।