डिप्रोक्स लघुवित्तको नाफा झन्डै आधा घट्यो, खराब कर्जा ५ गुणा बढ्यो

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ । लघुवित्तले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४२.८९ प्रतिशतले घटेको छ ।

लघुवित्तले चालु आवको असोज मसान्तसम्ममा ९ करोड ९१ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा झन्डै ८ करोड कम हो । गत वर्ष असोजसम्म कम्पनीले १७ करोड ३५ लाख रुपैयाँ कमाएको थियो ।

खुद ब्याज आम्दानी, सञ्चालन नाफामा घट्दा र खराब कर्जा बढेपछि इम्पेयरमेन्ट चार्ज बढ्दा लघुवित्तको खुद नाफामा उच्च गिरावट आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७.४३ प्रतिशत घटेर ३३ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सञ्चालन मुनाफा ४३.१३ प्रतिशतले घटेर १४ करोड १६ लाखमा सीमित भएको छ ।

समीक्षा अवधिमा लघुवित्तले ८ अर्ब २० करोड निक्षेप संकलन र ७ अर्ब ९५ करोड सापटी लिई कुल १८ अर्ब ७३ करोड ऋण लगानी गरेको छ । हाल १ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा १ अर्ब ६ करोड रुपैयाँ र जगेडा कोषमा ९६ करोड रुपैयाँ संचित छ ।

नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ५०.०४ रुपैयाँबाट घटेर ३४.२९ रुपैयाँमा झरेको छ ।

यस्तै, प्रतिसेयर नेटवर्थ २७५.२८२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६.३० गुणा र खराब कर्जा ५ गुणाले बढेर ३.६८ प्रतिशत पुगेको छ ।

शिवम् सिमेन्टको नाफामा सुधार, यस्तो छ वित्तीय अवस्था Read Previous

शिवम् सिमेन्टको नाफामा सुधार, यस्तो छ वित्तीय अवस्था

सूर्या लाइफको नाफा झन्डै दोब्बरले वृद्धि, प्रतिसेयर आम्दानी कति ? Read Next

सूर्या लाइफको नाफा झन्डै दोब्बरले वृद्धि, प्रतिसेयर आम्दानी कति ?