शोधानान्तर घाटामा सुधार, निर्यात २५ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाली अर्थतन्त्रको सदाबहार समस्याको रुपमा रहेको शोधानान्तर घाटामा केही सुधार आएको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्षको भदौ महिनासम्ममो तथ्याङ्कले केही सुधारको संकेत देखाएको हो ।

 

भन्सार विभागले प्रकाशित गरेको तथ्याङ्कका अनुसार भदौ महिनासम्म आयात १.२२ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ०७५/७६ को भदौ महिनासम्ममा २ खर्ब ३२ अर्ब रुपैयाँको आयात भएको थियो भने चालू आर्थिक वर्षको भदौ महिनासम्म २ खर्ब २९ अर्ब रुपैयाँको आयात भएको छ ।

 

त्यसैगरी, निर्यात २५.८७ प्रतिशतले बढेर १४ अर्ब ६९ करोड रुपैंयाँबाट १८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । बढेको निर्यात र घटेको आयातले व्यापार घाटालाई ३.०५ प्रतिशतले घटाउन मद्दत पुर्‍याएको छ ।

 

चालू वर्षको भदौ महिनासम्मको व्यापार घाटा २ खर्ब ११ अर्ब रुपैयाँ रहेको छ, जसमध्ये भारतसँग सबैभन्दा बढी १ खर्ब ३१ खर्ब रुपैयाँको व्यापार घाटा रहेको छ । यो भनेको कूल व्यापार घाटाको करिब ६२ प्रतिशत हो । यसैगरि चीनसँग ४० अर्ब २७ करोड रुपैंयाँको व्यापार घाटा भएको छ । यो भनेको कूल व्यापार घाटाको करिब १९ प्रतिशत हो ।

 

निर्यातको दृटिकोणले पनि नेपालको सबैभन्दा ठूलो कारोबार भारतसँग भएको छ । नेपालले चालू आर्थिक वर्षको भदौ महिनासम्म १२ अर्ब १५ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ भने दोस्रोमा संयुक्त राज्य अमेरिकामा २ अर्ब ८ करोड रुपैयाँको निर्यात गरेको छ ।

 

आयातमा दोस्रो स्थानमा रहेपनि चीन निर्यातको दृटिकोणले ८ औं स्थानमा रहेको छ । नेपालले चालू आर्थिक वर्षको भदौ महिनासम्म चीनमा जम्मा २९ करोड ४ लाख रुपैयाँको निर्यात गरेको छ ।

तिहारमा २५ लाख माला माग हुने Read Previous

तिहारमा २५ लाख माला माग हुने

सेयर बजारमा छायो हरियाली, सूचक र कारोबार दुवैमा सुधार Read Next

सेयर बजारमा छायो हरियाली, सूचक र कारोबार दुवैमा सुधार